Widgets

Home » , » ८ सय वर्ष पुरानो चित्र फर्कियो

८ सय वर्ष पुरानो चित्र फर्कियो

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

८ सय वर्ष पुरानो चित्र फर्कियो

काठमाडौं–सम्भवतः नेपालको सबैभन्दा पुरानो चित्रकला सिंहदरबार परिसरमा रहेको राष्ट्रिय अभिलेखालयमा थियो। चित्र अचानक त्यहाँ देखिन छाड्यो। कहिले हरायो, कसले चोर्‍यो, कहाँ पुर्‍याइयो, केही पत्तो थिएन। अचानक गत मार्चमा अमेरिकाको न्युयोर्कमा भेटियो, करिब ८ सय वर्ष पुरानो उक्त चित्र। त्यो पनि सामान खरिदबिक्री गर्ने अन्तर्राष्ट्रिय व्यावसायिक संस्था 'क्रिस्टी'ले लिलामीमा राखेर ग्राहक खोज्दै गर्दा। अमेरिकामा रहेका नेपालीले देखेपछि शंका लागेर दूतावासलाई खबर गरेपछि उक्त चित्रको इतिवृत्त छानबिन गरियो र काठमाडौं फर्काइयो। सबै प्रक्रिया पुर्‍याएर बल्ल पाँच महिनापछि शुक्रबार उक्त चित्र परराष्ट्र मन्त्रालयले राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरेको छ। 'यो दुर्लभ चित्रकला हो, यसको कुनै मूल्य हुँदैन,' हराएको वषर्ौंपछि शुक्रबार चित्रकला हातपर्दा राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले खुसी हुँदै भने, 'सबैको प्रयासले नेपाल ल्याउन सकियो।' शुक्रबार राष्ट्रिय अभिलेखालयले हात पारेको छवटा चित्रकला १३औंदेखि १६औं शताब्दीमा कोरिएका हुन्। छवटै चित्रकला त्यतिबेला लेखिएका हस्तलिखित पुस्तक (पाण्डुलिपि) का गाता (कभर) हुन्। गाता कागजको होइन, पातलो काठेबोर्डको। बोर्डमा विभिन्न रंगमा हिन्दु देवताका चित्र कोरिएको छ। दर्नालका अनुसार नेपालमा पहिलो शताब्दीदेखिका मूर्ति पाइन्छ। उनका अनुसार यस्ता मूर्ति प्रशस्तै छन्, तर चित्रकलाको हकमा त्यति पुरानो प्रमाण जुटाउन सकिएको छैन। अमेरिकाबाट फर्काइएको शुक्रबार अभिलेखालयलाई हस्तान्तरण गरिएका ६ वटा चित्रकला (किताबका गाता) नै हालसम्म भेटिएका मध्ये पुरानो नेपाली चित्रकला हुन्। 'नेपालको सबैभन्दा पुरानो चित्रकला १३औं शताब्दीमा बनेको मानिन्छ। जुन आज (शुक्रबार) अभिलेखालयलाई हस्तान्तरण गरिएको छ, यो नै सबैभन्दा पुरानो नेपाली चित्रकलाको प्रमाण हो,' दर्नालले भने। पुरानो नेपाली चित्रकलाको रुपमा सुनिँदै आएको लोमान्थाङको भित्तामा कोरिएका चित्र १५औं शताब्दीका हुन्। सन् १९७० देखि १९८६ बीच हराएका छवटै चित्रकला अभिलेखालयमा थिए। त्यसपछि यी चित्रकला अभिलेखालयमा देखिएनन्। चोर्नेले पूरै हस्तलिखित किताब नचोरी त्यसको गातामात्र चोरेका थिए। चोरिएका चित्रकला शिवधर्म, विष्णुधर्म र भागवत गीताका पुस्तकका गातामा कोरिएका थिए। चित्रमा भगवान शिव, विष्णु, बुद्धलगायतको अनुहाराकृति छन्। क्रिस्टीले गत मार्चमा अमेरिकाको न्युयोर्कमा पुराना वस्तु लिलामीमा राखेको थियो। अमेरिकामा रहेका केही नेपालीले लिलामीमा राखिएको चित्रकला आफ्नो देशको जस्तो लागेपछि वासिङ्टनस्थित नेपाली दूतावासलाई खबर गरेका थिए। दूतावासले परराष्ट्र मन्त्रालय र राष्ट्रिय अभिलेखालयलाई खबर गरेपछि ती चित्रकलाको रचनागर्भ अनुसन्धान थालिएको थियो। अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले पनि उक्त चित्रकला नेपालकै भएको प्रमाणित गरेपछि अभिलेखालयले क्रिस्टीलाई पत्र लेखेर तुरुन्त फिर्ता नगरे इन्टरपोलमार्फत कारबाही अघि बढाउने जनाउ दियो। सबै प्रमाण पुर्‍याएपछि त्रिस्टीले गत जुन १९ का दिन छवटै चित्रकला वासिङ्टनस्थित नेपाली दूतावासलाई बुझाएको थियो। वासिङ्टनबाट तीन साताअघि काठमाडौं आइपुगेको चित्रकला शुक्रबार परराष्ट्र मन्त्रालयले अभिलेखालयलाई हस्तान्तरण गरेको हो। 'कहिले, कसरी र कसले चोर्‍यो भन्ने पत्ता लगाउन सकेका छैनौं। तर, यो घटनाले हाम्रो आँखा खोलिदिएको छ। हामी धेरै सचेत भएका छौं,' दर्नालले भने, 'यी चित्रकलाले हामीसँग भएका सबै वस्तुको रेकर्ड राख्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ।' अभिलेखालयसँग ३० हजार हस्तलिखित ग्रन्थ छन्। यसका अलावा २ लाख ग्रन्थको अभिलेखालयले माइक्रो फिल्म बनाइसकेको छ। हराएका चित्रकलाको पनि माइक्रोफिल्म बनाइएको थियो। माइक्रोफिल्मकै आधारमा अभिलेखालयले चोरी भई अमेरिका पुगेका ती चित्रकलामा दाबी पेस गरेको थियो। 'पाण्डुलिपि हामीसँग थियो, गातामात्र हराएको थियो। अहिले प्राप्त भयो। अब बाँकी रहेका हस्तलिखित ग्रन्थको पनि माइक्रोफिल्म बनाउँछौं,' उनले भने।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger