Widgets

Home » » १ अर्ब १८ करोडमा प्रहरी मेडिकल कलेज

१ अर्ब १८ करोडमा प्रहरी मेडिकल कलेज

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

nepal police

काठमाडौ, श्रावण ९ - नेपाल प्रहरीले १ अर्ब १८ करोड रुपैयाँको लगानीमा प्रहरी अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने भएको छ । प्रहरी कल्याण कोषबाट ऋण लिएर मेडिकल कलेज बनाउन लागिएको हो । अस्पताल विकास समितिअन्तर्गत मेडिकल कलेजमा स्तरोन्नति गर्न सरकारले छ वर्षअघि नै स्वीकृति दिए पनि केही महिनाअघि मात्र काम अघि बढाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको थियो । 'प्रहरी अस्पताललाई मेडिकल कलेज बन्न नदिन प्रहरीभित्रै र बाहिरबाट भएको चलखेलको कारण प्रगति हुन सकेको थिएन,' प्रहरी प्रवक्ता नवराज सिलवाल (नायब महानिरीक्षक) ले भने, 'अब प्रक्रिया अघि बढिसकेको छ, पछाडि फर्किने काम हुन्न ।' कल्याणकारी कोषले पहिलो वर्ष ३० करोड रुपैयाँ र त्यसपछि हरेक वर्ष २५ करोड रुपैयाँको किस्तामा रकम उपलब्ध गराउने सहमति छ । तर विद्यार्थी भर्नाबाट रकम आउने भएकाले ३/४ वर्षपछि कल्याणकारी कोषबाट सहमतिअनुसारको रकम नलिए पनि मेडिकल कलेज चल्ने अनुमान गरिएको सिलवालले बताए । कोषमा भएको १ अर्ब ४७ करोड रुपैयाँ २२ वटा वाणिज्य बैंकमा बचत छ । यसरी बैंकमा राख्नुभन्दा लगानीमा प्रतिफल देखिएकाले प्रहरीको आफ्नै मेडिकल कलेजमा लगानी गर्ने निधो गरिएको उनले बताए । 'चार्टड एकाउन्टेन्टसहितको विज्ञ समूहले पनि लगानीका लागि उचित परियोजना ठहर्‍याएपछि अघि बढाइएको हो,' उनले थपे । २०४० सालमा स्थापित प्रहरी अस्पतालमा १ सय ५५ शय्या क्षमता छ । मेडिकल कलेज सञ्चालनका लागि अस्पतालको शय्या संख्या ३ सय पुर्‍याउन काम भइरहेको छ । हरेक वर्ष एमबीबीएसमा १ सय, बीडीएस र नर्सिङ (प्रमाणपत्र तह) मा ४०/४० विद्यार्थी भर्ना गरी कक्षा सञ्चालन गर्ने योजना छ । एमबीबीएसमा १० सिटमा सरकारले निःशुल्क (प्रतिस्पर्धामा अब्बल ठहरिएको आधारमा सिफारिस गर्ने गरी) प्राप्त गर्ने छ । नेपाल प्रहरी (अवकाशप्राप्त समेत) का छोराछोरी पाँच जनाले पढ्न पाउने छन् । ५० प्रतिशत छात्रवृत्तिमा प्रहरीका थप पाँच छोराछोरीले डाक्टरी पढ्न पाउने छन् । यस्तै निजामती, सेना र सशस्त्र प्रहरीका छोराछोरी पाँच जनाले ५० प्रतिशत छात्रवृत्तिमा पढ्ने सुविधा पाउने छन् । बाँकी ७५ सिटमा पूरै शुल्क तिरेर पढ्नुपर्ने छ । बीडीएस र नर्सिङमा पनि प्रहरीका छोराछोरीलाई आरक्षण छ । 'प्रहरीको तल्लो दर्जाका (अवकाशप्राप्त समेत) कर्मचारीका जेहेन्दार छोराछोरीले पनि डाक्टरीजस्तो महँगो पढाइ सुविधा पाउनु मेडिकल कलेजको सुन्दर पक्ष हो,' अस्पतालका चिकित्सक दिनेश्ाचन्द्र पोखरेलले भने । निःशुल्क र सहुलियत दरमा अध्ययन पूरा गर्नेले कम्तीमा दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने छ । यसमा एक वर्ष दुर्गम क्षेत्रमा बस्नुपर्ने छ । अस्पताल रहेको महाराजगन्जमा सशस्त्र प्रहरी गणको जग्गासमेत गरी १ सय ३५ रोपनी क्षेत्रफलमा मेडिकल कलेज सञ्चालन हुने छ । एमबीबीएसको सुरुको २ वर्ष (बेसिक साइन्स) को कक्षाका लागि साँगामा रहेको प्रहरी स्कुल हातामा पूर्वाधार निर्माण हुने छ । मेडिकल कलेजमा क्रमशः एमबीबीएस, नर्सिङ, पोस्ट ग्य्राजुएट कोर्स तथा सुपर स्पेसियालिटी कोर्स सञ्चालन गर्ने १० वर्षको गुरु योजना बनाइएको छ । प्रहरी र पूर्वप्रहरी र तिनका परिवारका लागि विद्युतीय ढोकामार्फत छुट्टै ठाउँमा उपचारको बन्दोबस्त मिलाउने योजना छ । अन्तर्राष्ट्रिय श्रम संगठनसँग समन्वय गरी मुलुकका गरिब जनताले पनि बेहोर्न सक्ने गरी स्वास्थ्य बिमा योजनाको विकास गरिने भनिएको छ । 'मुलुककै उत्कृष्ट मेडिकल कलेज बनाउने लक्ष्य लिएर हामी अघि बढेका छौं,' पोखरेलले भने । प्रहरी अस्पतालमा अहिले ४ सय ५० जति जनशक्ति छ । मेडिकल कलेज बनेपछि यसका लागि १ हजार ४ सय दक्ष जनशक्ति आवश्यक हुन्छ । यसका लागि प्रहरी सेवाका स्थायीका साथै करारमा जनशक्ति लिइने छ । आवश्यक डाक्टरमध्ये ५० प्रतिशत हाल उपलब्ध छन् । तर अस्पतालका चिकित्सक शिक्षण पेसामा संलग्न नभएकाले बेसिक साइन्स (सुरुको दुई वर्षको पढाइ) का लागि जनशक्ति अभाव छ । मेडिकल कलेज स्तरोन्नतिको प्रक्रिया अघि बढेपछि प्रहरीका केही अवकाशप्राप्त उच्चपदस्थ विरोधमा उत्रिएका छन् । तिनले कल्याणकारी कोषको रकम मेडिकल कलेजमा लगानी गरेर जोखिम मोल्न नहुने बताइरहेका छन् । प्रधान कार्यालयसम्बद्ध स्रोतका अनुसार जोखिम मोल्न नहुने भनेपनि तिनले आफू मेडिकल कलेजको हर्ताकर्ता हुनपर्ने माग गरिरहेका छन् । केहीले प्रहरीमा कमाएको कालोधन मेडिकल कलेजमै लगानी गरेकाले पनि प्रहरीले मेडिकल कलेज सञ्चालन गर्न हुन्न भनेर विरोध गरिरहेको स्रोतको भनाइ छ । 'सेवामा रहँदा पनि फोर्सलाई नै बद्नाम गरेर पैसा कुम्ल्याए,' प्रधान कार्यालयसम्बद्ध स्रोतले भन्यो, 'अहिले पनि मेडिकल कलेजको विरोध गरी दुःख दिइरहेका छन् ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger