Widgets

Home » » भट्टराईको त्याग कि मोलमोलाई ?

भट्टराईको त्याग कि मोलमोलाई ?

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Baburam Bhattarai

काठमाडौ, श्रावण ३ - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाओवादी उपाध्यक्ष पद त्यागेको घोषणासँगै तरंगित पार्टीको आन्तरिक राजनीति अझै स्थिर भएको छैन । सांगठनिक विवाद चुलिएपछि उपाध्यक्ष त्यागेको घोषणा गरेका भट्टराईले पार्टी वरिष्ठ नेताको पद स्वीकार्ने मनस्थिति बनाएपछि शीर्ष नेताहरू अलमलमा परेका छन् । कतिले त यो उनको 'त्याग' हो कि 'मोलमोलाई' भन्ने प्रश्नसमेत गर्न थालेका छन् । सांगठनिकलगायत विवाद हल गर्न शुक्रबारदेखि विस्तारित बैठक बोलाइएको छ । बैठकमा भट्टराईलाई कसरी सम्बोधन गर्ने भनेर केही दिनयता शीर्ष नेता र ब्युरो प्रमुखको बैठक निरन्तर बसिरहेको छ । बैठकले पहिले उपाध्यक्ष पदमै र्फकन आग्रह गर्ने र नभए उनलाई वरिष्ठ नेता बनाउने निष्कर्ष निकालेको छ । तर त्यो 'वरिष्ठ नेता' पदको भूमिका के हुने भन्ने अन्योल छ । पूर्वपोलिटब्युरो सदस्य चन्द्रप्रकाश खनालले पहिले भट्टराईलाई उपाध्यक्ष पदमै र्फकन आग्रह गरिने बताए । 'नमाने विस्तारित बैठकले विधान संशोधन गरी उहाँलाई वरिष्ठ नेता बनाउने छ । यसमा बाबुरामजी पनि सहमत हुनुहुन्छ,' उनले भने । भट्टराईनिकट नेता पूर्वपोलिटब्युरो सदस्य देवेन्द्र पौडेलका अनुसार अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोस्टबहादुर बोगटीसँगै वरिष्ठ नेताको हैसियतमा भट्टराई केन्द्रीय कार्यालय (पदाधिकारी) मा पनि रहने छन् । 'उहाँले सकारात्मक सोचका साथ कार्यकारी पद त्याग्नुभएको हो । तर अझै उहाँको भूमिका आवश्यक देखेर वरिष्ठ नेता बनाएर राख्ने निष्कर्षमा पार्टी पुगेको छ,' नेता पौडेलले भने, 'पहिले त उपाध्यक्षमै र्फकन आग्रह गरिने छ । तर नैतिक रूपमा उहाँलाई र्फकन अप्ठ्यारो हुने कुरालाई ध्यानमा राख्दै वरिष्ठ नेताको विकल्प अघि सारिएको हो ।' पद त्यागेलगत्तै सामाजिक सञ्जाल टि्वटरमा असार १५ मा भट्टराईले लेखेका थिए, 'औपचारिक पदमा नरहेर पनि देश र जनताको सेवा गर्न सकिन्छ र निश्चित अवधिपछि उच्चतहमा रहनेहरूले स्वैच्छिक पद त्याग गर्नु राम्रो हुन्छ भन्ने सोच हो ।' लगत्तै असार १९ गते अंग्रेजीमा टि्वट गर्दै भट्टराईले आफ्नो पद त्यागलाई गम्भीरतापूर्वक लिन र पदमा र्फकन दबाब नदिन पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । विधानतः बनाइने वरिष्ठ नेताको पद कसरी अनौपचारिक हुन्छ ? सायद त्यसैले होला भट्टराई स्वयंले आफ्नो पूर्ववर्ती बयान फेर्न थालेका छन् । यसअघि प्रयोग गरिएको 'औपचारिक' को साटो भट्टराईले 'उच्च कार्यकारी' भन्ने शब्द प्रयोग गर्न थालेका छन् । भाका फेर्दै मंगलबार उनले टि्वटेका छन्, 'कुनै उच्च कार्यकारी पदमा नबसिकनै देश र जनताको निरन्तर सेवा गरिरहने कुरामा म दृढ छु र रहिरहने छु । कसैलाई कुनै भ्रम नहोस् ।' एमाओवादी उपाध्यक्ष श्रेष्ठनिकट एक नेता हतारमा पद त्यागको घोषणा गरेकाले भट्टराईले पछुताउँदै गएको र आफ्ना अभिव्यक्ति सच्याउँदै गएको बताउँछन् । 'वरिष्ठ नेताका रूपमा केन्द्रीय कार्यालयमा बस्न उहाँ तयार हुनुहुन्छ । केन्द्रीय कार्यालय हाम्रो पार्टीको उच्च कार्यकारी समिति हो,' ती नेताले भने, 'यसैबाट पनि उहाँको पद त्याग मोलमोलाईका लागि थियो भन्ने स्थापित हुन्छ ।' विगतमा पनि पार्टीको पद त्याग्दै र्फकंदै गरेको इतिहास छ, भट्टराईको । राष्ट्रिय सहमतिबाहेकको प्रधानमन्त्री बन्दिन भनेको एक साता नबित्दै बहुमतीय प्रधानमन्त्री बनेको र शान्ति प्रक्रिया ४५ दिनभित्र पूरा नभए राजीनामा दिने घोषणा गरेपछि पनि पदमै रहेको निकट इतिहास छ । त्यहीकारण अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट नेताहरूले विस्तारित बैठकबाट उनको पद त्याग र तरिका गलत भएको प्रस्ताव नै पारित गर्ने तयारी थालेका छन् । 'कम्युनिस्ट पार्टीमा भावनामा बगेर वा लहडमा पद त्याग्ने कुरा आफैंमा त्रुटिपूर्ण छ । उहाँलाई साँच्चिकै पदमा बस्न मन नभएको भए एउटा विधि प्रक्रिया बनाएर छाड्न सक्नुहुन्थ्यो । त्यसैले त्यागको घोषणा र तरिका ठीक नभएको प्रस्ताव विस्तारित बैठकले पारित गर्छ,' अध्यक्ष दाहालनिकट एक उच्च नेताले बताए । श्रेष्ठनिकट केही नेताले त विधान संशोधन गरी 'वरिष्ठ नेता' को पद सिर्जना गर्ने कुराकै विरोध गर्ने मनस्थिति बनाएका छन् । 'महाधिवेशनको मर्मअनुरूप चल्नुपर्छ । कुनै ठूलै राष्ट्रिय विषयमा बाहेक कम्युनिस्ट पार्टीको विधान व्यक्तिलाई हेरेर जुनसुकै बेला परिवर्तन गर्ने कुरा आउँदैन,' एक नेताले भने, 'त्यसमाथि उहाँले औपचारिक र कार्यकारी पदमा नबस्ने भनेपछि किन विधान संशोधन गरेर उहाँको पदलाई औपचारिकता दिने ?' प्रवक्ता अग्नि सापकोटाले उपाध्यक्षमै फर्काउने वा वरिष्ठ नेता बनाउने, त्यसका लागि विधान संशोधन गर्ने/नगर्ने सबै विषय विस्तारित बैठकले तय गर्ने प्रतिक्रिया दिए । एमालेमा विधानमै व्यवस्था गरी माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाइएको छ । कांग्रेसमा भने विधानमा वरिष्ठ नेताको व्यवस्था छैन । तर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न कार्यक्रममा वरिष्ठ नेता भनेर सम्बोधन गर्ने गरिन्छ । भट्टराईको हकमा कुन प्रक्रिया अपनाउने भन्ने विषयमा एमाओवादीमा अन्योल छ । पूर्वस्थायी समिति सदस्य टोपबहादुर रायमाझी भट्टराई अहिले पनि पार्टीभित्र वरिष्ठ नेताकै रूपमा रहेको बताए । उहाँ अहिले पनि वरिष्ठ नेता हो, त्यसमा कसैको फरक मत छैन । त्यसलाई विधानमा समेट्ने/नसमेट्ने तपसिलका कुरा हुन् । यस विषयमा विस्तारित बैठकले नै टुंगो गर्छ,' उनले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger