Widgets

Home » » यी गाउँले राउटे जंगल छाडेर समाजमा घुलमिल

यी गाउँले राउटे जंगल छाडेर समाजमा घुलमिल

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

raute

काठमाडौ, असार १७ - गिठा-भ्याकुर खोज्दै जंगल घुम्दा मानबहादुर राउटे, ५३, ले घरमा बस्ने सपना कहिल्यै देखेनन्। पुस्तौँदेखि फिरन्ते जीवन बिताएकाले घर बनाउने, खेतीपाती गर्ने कुरा उनलाई अनौठो लाग्थ्यो। तर, सरकारले बल गरेर गाउँमा बसोवासको व्यवस्था मिलाएपछि आश्चर्यजनक तरिकाले उनको जीवनशैली फेरिएको छ। जोगबुडा र शीर्ष गाविसमा बसेका मानबहादुरजस्ता चार सयभन्दा बढी राउटेको जीवनमा परविर्तनका संकेत देखिन थालेका छन्। भन्छन्, "जंगलमा बस्दा न राम्ररी खान पाइन्थो, न त सुत्न। एक छाक खानलाई पनि काठका भाँडा, हलो, जुवा बनाएर गाउँगाउँ बेच्न जानुपथ्र्यो। साँझ पर्दा फेरि ओडारमा गएर बस्नुपथ्र्यो। घरमा बस्ने सपना त कहिल्यै देखिएन।" घर बनाएर बसेपछि राउटे समुदायका युवकयुवतीले पढ्न थालेका छन्। कतिपयले विभिन्न सरकारी निकायमा रोजगारी पाएका छन्। राउटे समुदायबाट एसएलसी पास गरेका जोगबुडाका एक मात्र युवक दानसिंह राउटे अर्थ मन्त्रालय अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा नायब सुब्बा स्तरका परामर्शदाता छन्। जोगबुडाकै श्यामसिं र राजुसिं राउटे नेपाल प्रहरीमा भर्ती भएका छन्। कञ्चनपुरकी विष्णु राउटे नेपाली सेनामा भर्ती भएकी छन् भने जोगबुडाकै मनीषादेवी राउटेले स्थानीय बीपी प्राथमिक विद्यालय, आमपानीमा स्थायी पियन पदमा काम गररिहेकी छन्। दानसिंका बाबु संग्रामसिं भन्छन्, "गाउँमा बसेकाले छोरा पढेर जागिरे भएको छ। अन्य सबै बालबालिकाले पढ्न पाएका छन्। जंगलमा बसेको भए हामी जंगली युगमै हुन्थ्यौँ।" डोटी, दार्चुला र बैतडीबाट घुमन्ते जीवन बिताइरहेका राउटेलाई ०३८ सालमा सरकारले जोगबुडा—१ आमपानी र शीर्ष—६ रजेउरामा स्थायी बसोवासको व्यवस्था मिलाएको थियो। सुरुमा राउटेहरू गाउँभन्दा जंगल नै प्यारो भन्दै भागेका रहेछन्। "सरकारले गाउँमा बसाइदियो तर राम्रो नमानेर सबै भागे। म भने जान सक्दिनँ भनेर एक्लै गाउँमा बसेँ," संग्रामसिं सम्झन्छन्, "पछि ०४० सालमा फेरि सरकारले खोजेर ल्यायो। निकै कर गरेपछि मात्र बस्न थालेका हौँ। नत्र, हामी अहिले पनि जंगलमै हुन्थ्यौँ।" त्यसो त दोस्रोपटक आइसकेपछि पनि खेतीपाती गर्ने काममा बानी नपरेकाले जीविका चलाउन गाह्रो भयो। कतिपय त बिरामी हुँदा र घरखर्च चलाउँदा जग्गा बन्धकी राखेर ऋण निकाल्न थाले। ऋण तिर्न नसकेर कतिपय फेरि जंगलतिरै भागे। बन्धकी राखेर ऋण लिएको रकमको हिसाब गर्दा २८ लाखभन्दा बढी रहेछ। उनीहरू अहिलेसम्म जग्गा खोज्न आएका छैनन्। डडेल्धुराबाट भागे पनि जंगलमा घुम्ने पर्याप्त साथी नभएपछि उनीहरू फिरन्ते जीवन छाडेर बैतडी, कञ्चनपुर, दार्चुला र भारतको धार्चुलासम्म पुगेर बसोवास गरेको दानसिंहको भनाइ छ। अन्यत्र बसेका राउटेहरूसँग अहिले पनि नाता-सम्बन्ध कायम रहेको नवराज राउटे बताउँछन्। भन्छन्, "छोरी लिनेदिने चलिरहेको छ। जहाँ पुगे पनि घरबास बनाएर बसेका छन्। फिरन्ते जीवन छाडेका छन्। जंगलमा जस्तो दुःख छैन।" अझै पनि १ सय ४० परिवार राउटे जंगलमै फिरन्ते जीवन बिताइरहेका बेला गाउँका राउटे भने अन्य समुदायजस्तै भइसकेका छन्। उनीहरूको जीवनशैली जंगलका राउटेसँग मिल्न छाडेको छ। यसैले पनि होला, जंगलका राउटेले भेट्दा जोगबुडाका राउटेलाई भनेछन्, "तिमीहरू पनि राउटे हौ र ?" जवाफ 'हो'मा आएपछि जंगलका राउटे सुरेन्द्र शाहीले भनेछन्, "त्यसो भए उहिल्यै राउटे थियौ होला। अहिले त हामी मात्रै राउटे हौँ।" सुरुमा गाउँ पस्दा जंगलकै स्वरूपमा भए पनि बिस्तारै अन्य समुदायबाट काम गर्न सिकेको जोगबुडाका नरे कामी बताउँछन्। भन्छन्, "सुरुमा गाउँ आउँदा गिठा खान्थे, च्यातिएका कपडा लगाउँथे, महिलाहरू घरबाहिर निस्कँदैनथे। काठका भाँडा बनाएर बेच्थे। पछि हामीले सिकाउँदै गएपछि खेतीपाती गर्न थालेका हुन्। सामाजिक कामकाजमा सहभागी हुँदै गएका हुन्।" सुरुमा जोगबुडामा १५ र शीर्षमा २० परिवार बसेकामा अहिले जोगबुडामा ३५ र शीर्षमा ५० गरी ८५ परिवार पुगेका छन्। राउटे विकास संघका अनुसार राउटेको संख्या चार सयभन्दा बढी छ। घर बनाएर बस्ने र खेतीपाती गर्ने काममा रुचि नभएकाले जंगलका राउटेहरूलाई स्थायी बसोवास गराउन कठिन भएको संघका अध्यक्ष दानसिं सुनाउँछन्। जंगलको जीवनमा जोखिम भएकाले बर्सेनि राउटेको संख्या घट्दै गएको छ। असुरक्षित रूपमा सुत्केरी हुने, बिरामी हुँदा अस्पताल नजाने, सरसफाइ र पोषणमा ध्यान नदिने तथा प्राकृतिक प्रकोपबाट बच्ने अवस्था नभएकाले राउटेहरूको अकालमै मृत्यु हुने गरेको छ। फिरन्ते राउटेले पनि गाउँमा बसेका राउटेको जीवनशैलीप्रति रुचि राख्न थालेका छन्। "यिनीहरू पहिले राउटे थिए त ? कसरी यहाँ आएर बसे ? यिनीहरूलाई हाम्रो कुरा थाहा छ कि छैन ?" गाउँमा बसेका राउटे हेर्न जोगबुडा पुगेका फिरन्ते राउटे मुखिया ऐनबहादुर शाही भन्छन्, "गाउँमा बसेको पनि ठीकै हो तर हाम्रो संस्कार हराउँछ कि भन्ने चिन्ता छ।"

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger