Widgets

Home » » जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन!

जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन!

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
'पुर्जा ढिला छ'
मान्छेहरू बेचैन छन्, अशान्त छन्, तनावग्रस्त छन्। आफूलाई नियन्त्रण गर्न नसकेपछि उनीहरू बर्बराउन थाल्छन्, असामान्य व्यवहार देखाउन थाल्छन्। र, उनीहरूलाई समाज बौलाहा, पागल, खुस्केड, क्य्राक, मेन्टल, साइको, आइसी उडेको आदि नामले बोलाउने गर्छ। मानसिक सन्तुलन गुमाएका मान्छेहरूको संख्या डरलाग्दो गरी बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा मानसिक असन्तुलन नम्बर एक रोग हुनेछ। यसपटक नेपालीको मानसिक स्वास्थ्यको खबर लिएकी छिन् संगीता श्रेष्ठले। काठमाडौँ, डिल्लीबजारमा लगभग ४० वर्ष जतिका एक जना पुरुष कराउँदै हिँडिरहेका हुन्छन्। उनी फर्र अंगे्रजी बोल्छन्। गाली पनि अंग्रेजीमै गर्छन्। नेपाली पनि त्यस्तै राम्रो बोल्छन्। डिल्लीबजारमा उनी आफ्नो घरपरिवारसँगै बस्छन्। उनका छिमेकीका अनुसार उनी धेरै पढ्ने र प्रतिभाशाली विद्यार्थी थिए। अमेरिका पढ्न जाँदा त्यहाँ दुर्घटनामा परेपछि उनको दिमागी सन्तुलन बिग्रेको हो। उनलाई अमेरिकाबाट नेपाल फर्काइयो। त्यतिबेलादेखि उनको अवस्था यस्तै छ। पुतलीसडकमा एक जना पुरुष जति बेला पनि हात हल्लाउँदै बस्छन्। शंकरदेव क्याम्पस नजिक एक महिला अनुहारमा रातो रङ पोतेर गीत गाउँदै बस्छिन्। घण्टाघरतिर एक पुरुष सलाईका खोस्टादेखि पसलेले फालेका कार्टुनको भारी पिठ्यूँमा बोकेर हिँड्छन् भने चाबहिलमा एक जना महिला यताउता हिँडिरहेका पुरुषहरूलाई जिस्काउँदै बस्छिन्। यस्ता खाले दृश्य काठमाडौँ तथा शहरबजारमा धेरै देखिन थालेका छन्। विक्षिप्त महिला र पुरुष बजारमा निकै भेटिन्छन् आजभोलि। हाम्रो समाजमा यस्ता व्यक्तिका लागि बौलाहा, पागल, खुस्केड, पुर्जा ढिला भएको, दिमाग खुस्केको, आइसी उडेको, साइको, क्य्राक, मेन्टल आदि अपमानजनक संज्ञा प्रयोग गरिन्छन्। मानव अधिकारवादीहरू यस्ता शब्दको प्रयोग गर्नुलाई मानव अधिकारको हनन मान्छन्। त्यसैले चिकित्सा विज्ञानको भाषामा उनीहरूलाई मानसिक सन्तुलन गुमाएका महिला वा पुरुष भन्ने गरिन्छ। दिमागले काम गर्न छाडेपछि मानिसले मानसिक सन्तुलन गुमाउँछ। आफूमा नियन्त्रण नभएपछि मानिस घरबाट भाग्ने, जंगलतिर जाने, सडकमा विक्षिप्त अवस्थामा घुम्ने, आत्महत्याको प्रयास गर्ने वा कतिपयले आत्महत्या पनि गर्ने गर्छन्। मानसिक सन्तुलन गुमाउने व्यक्तिले सुरुआतमा एकोहोरो टोलाउने, अरूले सुन्दै नसुनेको आवाज सुन्ने, हरेक कुरामा भ्रमपूर्ण सोचाइ राख्नेजस्ता क्रियाकलाप गर्ने बताउँछन्, काठमाडौँ मोडल हस्पिटलका वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय। त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा. सरोजप्रसाद वझाका अनुसार बाल्यावस्था, युवावस्था वा वृद्धावस्था जुनसुकै उमेरमा पनि मानिसले मानसिक सन्तुलन गुमाउन सक्छ। तर, बाल्यावस्थादेखि मानसिक असन्तुलनका लक्षण देखिए पनि यसको सुरुआत भने टिनएजपछि मात्र हुने उनी बताउँछन्। 'पन्ध्र वर्षको उमेरपछि मस्तिष्कको विकास हुने भएकाले टिनएजमा यो समस्या बढी बल्भि्कन्छ,' उनी भन्छन्। विश्व स्वास्थ्य संगठनले विश्वभरि अस्पतालमा आउनेमध्ये २० प्रतिशतलाई मानसिक स्वास्थ्यको समस्या देखिने बताएको छ। कुल जनसंख्याको तीन प्रतिशतलाई मानसिक रोग लाग्ने गरेको देखिएको छ। नेपाल पनि यही हाराहारीमा छ। स्वास्थ्य सेवा विभागको १० वर्षे तथ्यांकअनुसार सन् २००१ मा १२ हजार रहेको मानसिक रोगीको संख्या सन् २०१० मा ३६ हजार पुगेको थियो। एक अध्ययनअनुसार कम्तीमा १० नेपालीमध्ये एक नेपाली कुनै न कुनै मानसिक रोगको चपेटामा परेको देखिन्छ। मुख्य रूपमा डिप्रेसन, चिन्ता, फोबिया, बाइपोलर डिसअर्डर, स्ट्रेस, मानसिक थकान, यौन समस्या, लागुऔÈध दुर्व्यसन तथा सिजोफ्रेनिया आदिबाट नेपालीहरू पीडित छन्। माओवादी सशस्त्र द्वन्द्वका कारण पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) का रोगीको संख्या पनि धेरै छ। चिकित्सा विज्ञानले 'यही कारणले मानसिक सन्तुलन बिग्रेको हो' भन्न सक्ने अवस्था नभए पनि साधारणतया आनुवंशिक, जैविक, रासायनिक, मनोसामाजिक, मद्यपान तथा लागुऔÈध दुर्व्यसन, दीर्घ र जटिल रोगका कारण मानसिक रोग लाग्ने गर्छ। अभिभावक मानसिक रोगी छ भने बच्चा त्यस्तै वातावरणमा हुर्किन्छ। 'म पनि पागल हुन्छु कि?' भन्ने डरबाट छोराछोरी त्रसित हुन्छन्। त्यही भयले पनि उनीहरूलाई मानसिक रोगी बनाउन सक्ने बताउँछन्, डा. कपिल। भन्छन्, 'अभिभावकलाई छ भन्दैमा सबैलाई हुने होइन तर १० देखि १५ प्रतिशतसम्ममा हुने सम्भावना रहन्छ।' पढाइमा राम्रो गर्न नसक्दा, प्रेममा धोका पाउँदा, करिअरमा असफल हुँदा, बेरोजगार हुँदा, रक्सी वा ड्रग्सको सेवनले मानसिक असन्तुलन हुनेको संख्या बढ्दै गएको मनोचिकित्सकहरू बताउँछन्। भ्रमको जालो, बदनामीको डर म शब्दलाई देख्दछु! दृश्यलाई सुन्दछु! बास्नालाई स्वाद लिन्छु! आकाशभन्दा पातला कुरालाई छुन्छु! ती कुरा जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन! महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई जे भ्रम हुन्छ, उसका लागि त्यही नै सत्य हुन्छ। ऊ त्यसमै बाँच्न चाहने बताउँछन्, डा. कपिल। भन्छन्, 'मानसिक रोगीले आफूलाई बिरामी ठान्दैन। रोगी नभएको भ्रम भएकाले ऊ आफ्नो उपचार गराउन पनि चाहँदैन।' हाम्रो समाजमा अहिले पनि मानसिक रोगलाई भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहदशाका कारण भएको मानिन्छ। नेपाली समाजमा त झन् मानसिक रोग लुकाउने–छिपाउने प्रवृत्ति विद्यमान छ। लोकलाजका कारण घरपरिवारले पनि मानसिक असन्तुलन भएको कुरा लुकाउने गर्छन्। तर, रोगलाई लुकाउँदा रोग झन् बढेर जाने बताउँछन्, डा. कपिल उपाध्याय। 'मानसिक समस्या भएका बिरामीले लगातार औषधि सेवन गरेमा समस्या समाधान हुन्छ। त्यसैले रोगका लुकाउनुभन्दा उपचार गर्नु जाति,' उनी भन्छन्। प्रेममा पागल बुटवलका २९ वर्षीय विपिन शर्मा विगत छ महिनादेखि लखनखेलस्थित मानसिक अस्पतालको एउटा सानो कोठामा एक्लै बर्बराइरहेका छन्। अस्पतालको त्यो कोठामा उनी अधिकांश समय एक जना केटीको नाम लिइरहेका हुन्छन्। केटीको नाम लिँदै कहिले एक्लै हाँस्छन्, कहिले निन्याउरो अनुहार बनाउँछन्। केटीको नाम कहिले भुइँमा त कहिले भित्तामा हातका औँलाले लेख्दै, मेटाउँदै गर्छन्। उनी मानसिक अस्पताल पुग्नुकोे कारण थियो– पाँच वर्षे प्रेम सम्बन्ध टुट्नु। अस्पतालका चिकित्सकका अनुसार उनलाई मानसिक समस्या साइकोसिस भएको छ। चिकित्सकहरूले आफन्तबाट लिएको जानकारीअनुसार विपिनले माया गर्ने बुटवलकै शारदाले पाँच वर्षे लामो प्रेम सम्बन्धलाई छोडेर अर्कै केटासँग विवाह गरेपछि उनले एकाएक फरक व्यवहार देखाउन थालेका थिए। अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचनका अनुसार साइकोसिसको समस्या भएको व्यक्तिको दिमागमा कुनै एउटा कुरा गहिरोसँग गडेको हुन्छ। विपिनलाई पनि त्यस्तै भएको उनको अनुमान छ। मानसिक अस्पतालमै केही हप्ताअगाडि मात्र सबनम नाम गरेकी एक जना २३ वर्षीया युवतीलाई उपचारका लागि ल्याइएको छ। डिप्रेसनबाट ग्रसित भएपछि आफन्तले उनलाई उपचारका लागि अस्पतालमा ल्याएका हुन्। उनको समस्याको जड पनि प्रेम नै हो। काठमाडौँ निवासी ती युवती तीन वर्षदेखि एक पुरुषसँगको प्रेम सम्बन्धमा थिइन्। डेढ वर्षअघि अस्ट्रेलियामा अध्ययनका लागि गएका सबनमका प्रेमीले अस्ट्रेलियाबाट सुरुसुरुमा फोन गर्ने गरे पनि केही समयपछि वास्ता गर्न छाडे। आफ्नो प्रेमीले फोन पनि नगर्ने, सामाजिक सञ्जालबाट समेत हटाएको, यताबाट फोन गरे पनि हत्तपत्त नउठाउने र उठाइहाले पनि बारम्बार फोनमा गाली गर्ने, आफू अर्कैसँग प्रेममा परेको बताउने गरेपछि सबनम डिप्रेस्ड भएकी हुन्। उनले दुई पटक ब्लेडले नाडी काट्ने प्रयास पनि गरिसकेकी छिन्। औषधि उपचारपछि उनको स्वास्थ्यमा केही सुधार आएको छ। लगनखेलस्थित मानसिक अस्पतालमा विपिन र सबनमजस्तै प्रेममा 'पागल' भएर उपचार गराउन आउनेको संख्या दिनहुँ बढ्दै गएको छ। मन मस्तिष्क र सम्पूर्ण जीवन नै आफ्ना प्रेमीलाई दिएका ती 'पागल' प्रेमीका कथा लगभग उस्तै छन्। अस्पतालमा भर्ना गरिएका र जटिल समस्या भोगिरहेका तथा भर्ना गर्नुपर्ने अवस्थामा पुगेका 'पागल' प्रेमीहरूको अवस्था छोटो समयसम्म देखिने मानसिक समस्याका बिरामीको तुलनामा निकै दयनीय छ। उनीहरू परिवारका लागि पीडा भएका छन्। मानसिक समस्या लिएर अस्पतालमा आउनेमा अविवाहितभन्दा विवाहितको संख्या बढी भएको अस्पतालका निर्देशक डा. शेरचन बताउँछन्। चिकित्सकका अनुसार विपिनलाई भएको 'साइकोसिस' कडा मानसिक रोग हो। साइकोसिसलाई बोलिचालीको भाषामा पागलपन पनि भन्ने गरिन्छ। यस्ता रोग लागेकाले सामाजिक परिप्रेक्ष्यमा अमिल्दो व्यवहार गर्ने, कुराकानीमा पनि गडबडी भेटिने, आफू के गरिरहेछु र के बोलिरहको छु भन्ने थाहा नहुने, कुनै एउटा कुरा दिमागमा गढेको छ भने त्यही कुरालाई व्यवहारमा उतार्ने, कुनै आधारबिना गलत विश्वासमा अडिग रहने, बाहिर आवाज नआईकन आवाज सुन्ने, नभएको कुरा देख्ने, लक्ष्यहीन तथा दिशाहीन क्रियाकलाप गर्ने, अर्थहीन बोलिरहने, एउटै कुरामा एकोहोरो लागिरहने, एउटै व्यवहार देखाइरहने लगायत व्यवहार देखाउने चिकित्सक बताउँछन्। सबनमलाई भएको डिप्रेसनको समस्या भने अधिकांशमा देखिने समस्या हो। डिप्रेसनमा मानिस उदास हुने, सोचिरहने, कुरा खेलाइरहने जस्ता समस्या देखिन्छ। चिकित्सकका अनुसार डिप्रेसनमा मन ज्यादै दुःखी हुनु, कुनै कुरामा रुचि नहुनु, थकाइ बढी लागेको अनुभूति हुनु, मनमा नकारात्मक कुरा मात्र बढी आउनु, भोक र निद्रा पनि गडबडी हुने हुन्छ। निर्देशक शेरचनका अनुसार पछिल्लो समयमा अस्पतालमा डिप्रेसनका बिरामीको संख्या ह्वात्तै वृद्धि भएको छ। डिप्रेसनका बिरामीमा आत्मविश्वास पनि कम हुने, पश्चात्ताप लाग्ने र मनमा छटपटी हुने गरेको उनको भनाइ छ। डिप्रेसनको समस्या लिएर आउने अधिकांश युवायुवतीमा प्रेमको असफलता, वैवाहिक जीवनमा मनमुटाव, बेरोजगारी, मनमा चोट परेका, बढी महŒवकांक्षालगायत कारण रहेका छन्। चिकित्सकका अनुसार डिप्रेसनको समस्याले सताएका बिरामीलाई क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आफ्नो 'काल आइदिए हुन्थ्यो' जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हुन थाल्छ र चरम सीमा आत्महत्यासम्म पुग्न सक्छ। पछिल्ला समयमा प्रेमका कारण आत्महत्या बढ्नुको कारण पनि डिप्रेसनको समयमा नै उपचार नहुँदा भएको चिकित्सकहरूको भनाइ छ। विदेशमा गुम्यो सन्तुलन घरेलु कामदारका रूपमा कुवेत पुगेकी सिन्धुपाल्चोक, स्याउलेकी २२ वर्षीया सम्झना तामाङ केही महिनाअघि मानसिक सन्तुलन गुमाएर घर फर्किइन्। पौरखी नेपाल नामक संस्थाले उनलाई त्रिभुवन विमानस्थलबाट उद्धार गरी उपचारमा राखेको थियो। बर्बराइरहने सम्झना कहिले होसमा हुन्थिन्, कहिले बेहोसीमा। उनको उपचारमा संलग्न डा. शिखरबहादुर स्वाँरले उनलाई गहिरो मानसिक रोग भएको बताएका थिए। यहाँ आउनासाथ अरेबियन, नेपाली र तामाङ भाषामा उनले केही बेर कुरा गरेकी थिइन्। आफूले यातना पाएको उनले बताएकी थिइन्। चिकित्सकहरूले शारीरिक र मानसिक यातनाका कारण उनको यो अवस्था भएको बताएका थिए। भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा साउदी अरब पुगेकी अनिता चौधरी मानसिक सन्तुलन गुमाएर नेपाल फर्किएकी थिइन्। पाँच महिनामै नेपाल फर्किएकी उनी अहिले मानसिक रोगको उपचार गराइरहेकी छिन्। नवलपरासी धर्कैया–७ की चौधरीलाई एनआरएन साउदी अरबले सहयोग गरी नेपाल फर्काएको थियो। कतार, साउदी अरब, कुवेत, युएई, लेबनान, बहराइनलगायत मुलुकबाट उद्धार गरेर ल्याइएका २ हजार ८ सय २२ जना नेपाली महिलामा ४ सय १५ जनाले मानसिक सन्तुलन गुमाएका थिए। सामान्यतया रोजगारीका क्रममा यातना सहनुपर्ने, कडा काम गर्न नसक्ने भएपछि महिलाहरूले मानसिक सन्तुलन गुमाउने गरेको घटनाहरूले पुष्टि गरेका छन्। चितवन भण्डारा–२ का तिलक थापाले मानसिक सन्तुलन गुमाएर २०६७ सालमा लेबनानबाट फर्केकी पत्नी विनिताको उपचारमा धेरै ऋण बोकेका थिए। त्यसबेला उनी निकै पीडामा थिए। वैदेशिक रोजगारमा गएर विभिन्न रोग र मानसिक सन्तुलन गुमाएर फर्किनेहरूको आधिकारिक तथ्यांक सरकारी निकायले राखेको छैन। पछिल्लो समय इपिएस प्रणालीबाट दक्षिण कोरियामा काम गर्न पुगेकाहरूमध्ये केहीले मानसिक सन्तुलन गुमाउन थालेका छन्। कामको चापका कारण नेपालीहरूले मानसिक सन्तुलन गुमाउन थालेको बताइएको छ। (फिचरमा उल्लेखित मानसिक रोगीका नाम परिवर्तन गरिएका छन्। प्रवीण ढकाल, अम्मर जिसी र डी विनोदको सहयोगमा)

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger