Widgets

Home » » हङकङ तेक्वान्दोको प्रमुख प्रशिक्षकमा नेपाली

हङकङ तेक्वान्दोको प्रमुख प्रशिक्षकमा नेपाली

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

 हङकङ साम सुई पोस्थित स्पोर्ट्स सेन्टरमा हालै राष्ट्रिय टोलीका सिनियर खेलाडीलाई प्रशिक्षण दिने क्रममा प्रमुख प्रशिक्षक तुलसीकुमार गुरुङ ।

हङकङ तेक्वान्दो एसोसिएसनले तुलसीकुमार गुरुङलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । तेक्वान्दोका ७ डान (ग्रान्डमास्टर) गुरुङलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो । हङकङको खेलकुद इतिहासमा यो स्थान हासिल गर्ने गुरुङ पहिलो नेपाली हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक गुरुङ सन् १९८२ र ८३ मा आयोजित 'हङकङ ओपन ब्ल्याकबेल्ट कम्पिटिसन' का स्वर्णपदक विजेता हुन् । सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित 'वल्र्ड तेक्वान्दो च्याम्पियनसिप' मा सहभागिता जनाएका थिए । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उनलाई हङकङ ओपनमा भिड्ने अवसर जुरेको थियो । सन् २००२ देखि हङकङ तेक्वान्दो एसोसिएसनको 'चिफ फिजिकल कोच' रहेका ५२ वर्षीय गुरुङलाई गत अपि्रलमा महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो । एसोसिएसनसँग सम्बद्ध ४३ संस्थाका ग्रान्डमास्टर सम्मिलित भेलाले उनलाई प्रमुख प्रशिक्षक चुनेको थियो । यिनी मातहत चारजना चिनियाँ प्रशिक्षक छन् । 'विगतका अनुभवका कारण ममाथि धेरै आशा राखेर यो जिम्मेवारी दिइएजस्तो लाग्छ,' विश्व तेक्वान्दो महासंघका अन्तर्राष्ट्रिय मास्टर प्रशिक्षक र रेफ्रीसमेत रहेका गुरुङले भने, 'सक्दो राम्रो रिजल्ट दिने प्रयास गर्नेछु ।' सन् १९८६ को एसियन च्याम्पियनसिपयता हङकङले तेक्वान्दोमा राम्रो परिणाम ल्याउन सकेको छैन । गतवर्ष अक्टोबरमा आयोजित कोरियन ओपनमा भने दुई स्वर्ण जितेको थियो । उतिबेला चिफ फिजिकल कोच रहेका गुरुङले नै उक्त टोलीको नेतृत्व गरेका थिए । 'गतवर्षको सफलताले जिम्मेवारी दिन थप बल पुगेको हो कि भन्ने लाग्छ,' हालै प्रशिक्षण स्थलमा कान्तिपुरसँग कुराकानी गर्दै गुरुङले भने, 'एसियन तेक्वान्दो च्याम्पियनसिपमा हङकङलाई मेडल दिलाउने मेरो पहिलो लक्ष्य हुनेछ ।' नेपालमा आयोजित दुई प्रतियोगितामा समेत हङकङ टोलीले उनको नेतृत्वमा सहभागिता जनाएको थियो । तीस वर्षभन्दा बढी समयदेखि तेक्वान्दोसँग आबद्ध उनले पछिल्लो सफलतालाई सामान्य रूपमा लिएको सुनाए । 'तेक्वान्दो मेरो जीवनको हिस्सा नै बनिसकेको छ,' हङकङ पुलिस तेक्वान्दो क्लबका चिफ टेक्निकल एड्भाइजर पनि रहेका गुरुङले भने, 'मेरो प्रगतिमा साथीभाइहरूले गर्व गरेको सुनाउँदा भने खुसी लाग्दो रहेछ ।' सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्यान्डमा आयोजित इस्ट एसियन गेम्समा गुरुङ अफिसियल रेफ्री थिए । त्यसो त नेपाली खेलकुदमा समेत उनले इतिहास रचेका छन् । २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आर्ट्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहको विशेष जोडमा मार्सल आटर्सलाई पहिलोपटक राष्ट्रिय खेलकुदमा समावेश गरिएको उनले बताए । 'त्यतिबेला नेपालमा मार्सल आर्ट्स निकै चर्चित थियो, कराँते ठूलो कि तेक्वान्दो ? भन्ने बहस नै चल्थ्यो,' गुरुङले विगत सम्झँदै भने, 'तत्कालीन सदस्य सचिवका जोडमा तेक्वान्दो र कराँते दुवैलाई मिक्स गरी मार्सल आर्ट्स गेम राखिएको थियो ।' उनले त्यो बेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई क्वाटरफाइनलमै पराजित गरेको बताए । तेक्वान्दोमा नाम कमाएका गुरुङले पौडीमा पनि कीर्तिमान राखेका छन् । सन् १९८४ मा काठमाडौंमा आयोजित पहिलो दक्षिण एसियाली खेलकुद (साग) मा यिनी सम्मिलित चार सदस्यीय टोलीले फ्रिस्टाइल एक सय मिटर रिलेतर्फ कांस्यपदक जितेको थियो । अमृत चित्रकार, जयप्रसाद गुरुङ र राजमान तुलाधर टोलीका अन्य खेलाडी थिए । त्यसअघि २०३८ मा काठमाडांैमा आयोजित पहिलो राष्ट्रिय खेलकुदमा समेत सहभागिता जनाएका उनले पौडीबाटै दुई स्वर्ण र एक रजत पदक जितेको बताए । यीमध्ये एक रिले र दुई एकल प्रतिस्पर्धा थिए । सेनामा जागिरे यिनी छुट्टी मिलाएर राष्ट्रिय खेलकुदमा भिड्न पुगेका हुन् । गुरुङले गण्डकी अञ्चलका तर्फबाट सहभागिता जनाएका थिए । सन् १९७८ देखि १८ वर्ष सेनामा बिताएका यिनी फिजिकल ट्रेनर (वारन्ट अफिसर) थिए । ब्रिटिस गोर्खाली सेनामा उक्त पद हासिल गर्ने आफू पहिलो नेपाली भएको समेत गुरुङको दाबी छ । बक्सिङ र मार्सल आर्ट्समा रुचि राख्ने उनले सेनामा भर्ती भएको वर्ष दिनभित्रै तेक्वान्दो खेल रोजेका थिए । त्यसको एक वर्षमै ब्ल्याकबेल्ट पाएका यिनलाई खेलकुदप्रतिको लगावकै कारण एक वर्षको विशेष तालिमपश्चात् सेनाको फिजिकल ट्रेनर बनाइएको थियो । यस खेलतर्फ आकषिर्त गराउन बु्रस लीको समेत प्रभाव रहेको यिनको भनाइ थियो । 'उतिबेला ब्रुस लीका फिल्महरू निकै चर्चित थिए, खुबै हेरिन्थ्यो पनि,' लालीगुराँस टोल पोखरा १२ का उनले भने,'त्यसले पनि यस खेलतर्फ तान्यो ।' सेनाबाट अवकाश लिइसकेपछि पनि उनी निरन्तर तेक्वान्दोमै सक्रिय छन् । सन् २००१ मा गुरुङले 'हङकङ नेप्लिज् तेक्वान्दो एसोसिएसन' दर्ता गरेका थिए । त्यसयता उनको प्रशिक्षकत्वमा दुई हजार बढीले ब्ल्याकबेल्ट लिइसकेको उनले जनाए । पर्याप्त समय दिएर मिहिनेत गर्न सक्ने यहाँ बसोबास गर्ने नेपाली खेलाडीहरूले पनि हङकङको राष्ट्रिय तेक्वादोमा स्थान लिनसक्ने प्रशस्त सम्भावना रहेको उनको बुझाइ छ । तर स्रोतसाधन सम्पन्न मुलुक भए पनि हङकङले खेलकुदलाई व्यावसायिक बनाउन नसकेको उनको अनुभव छ । 'यहाँ एसियाली र विश्वस्तरमा राम्रो रिजल्ट ल्याएका खेलमा मात्र मनग्ये लगानी गर्ने सरकारी नीति छ,' तेक्वान्दोमा फुलटाइम (पूर्णकालीन) प्रशिक्षकसमेत नराखिएको जनाउँदै उनले भने, 'यस खेलबाट राम्रो परिणामको अपेक्षा राख्ने हो भने त्यसैअनुसार लगानी पनि बढाउनुपर्ने मैले सुझाव दिएको छु ।' उनले प्रशिक्षकत्व सम्हालेपछि हङकङको राष्ट्रिय टोली पहिलोपटक अगस्टमा हुने ताइपेई ओपनमा सहभागी हुँदैछ । २०१४ अपि्रलमा उज्वेकिस्तानमा हुने एसियन च्याम्पियनसिपमा हङकङलाई मेडल दिलाउने मुख्य लक्ष्यसहित प्रशिक्षण अघि बढाएको गुरुङले बताए । छनोटमा परेका ३५ खेलाडी हाल प्रशिक्षणमा सहभागी छन् । 'मेरो अनुभव नेपालका लागि समेत समर्पित गर्नुपर्छ भन्ने लागिराखेको छ,' प्रमुख प्रशिक्षक गुरुङले भने, 'केही योजनाहरू पनि छन् तर उचित समयको पर्खाइमा छु ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger