भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रमेश घिमिरे
१५ असार, काठमाडौं । सरकारले मोटरका यात्री र तेस्रो पक्ष बीमा अनिवार्य गरेका कारण बीमा कम्पनीको बीमाशुल्कमा वृद्धि भए पनि नाफामा भने सकारात्मक प्रभाव परेको छैन । मोटर बीमा सबैभन्दा बढी बीमाशुल्क उठ्ने क्षेत्र त बनेको छ । साथै, सबैभन्दा बढी अनुपातमा बीमा दाबी पर्ने क्षेत्र पनि यही हो ।
मोटरको भौतिक बीमाबापत बीमा कम्पनीले सिसा र प्लाष्टिकका सामानको क्षति व्यहोर्दैनन् । रुट इजाजत लिएको सडकबाहेक बाहिर गुड्दा र क्षमताभन्दा बढी यात्री चढ्दा भएको दुर्घटनामा पनि बीमा कम्पनीले दायित्व व्यहोर्नु नपर्ने नियम रहेको छ । व्यवहारमा यो नियम लागू नहुँदा बीमकले सबै क्षति व्यहोर्ने गरेका छन् । त्यस्तै, अन्य कारणले मृत्यु भएका व्यक्तिलाई पनि सडकमा हिंड्दा मोटरले ठक्कर दिएको कागजात तयार गरेर ५ लाख रुपैयाँ दाबी गरेका घटना पाइन्छन् ।
नियमविपरीत र फर्जी बीमा नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि विकृतिमा केही कमी भएको र आगामी कारोबारमा दाबी रकम घट्दै जाने अपेक्षा गरेको बीमा कम्पनीहरु बताउँछन् । बीमा कम्पनीहरुको अनुरोधमा नियामक बीमा समितिले दुर्घटना प्रमाणिकरणका लागि मापदण्ड बनाई लागू गर्न प्रहरीलाई आग्रह गरेको थियो । प्रहरी प्रधान कार्यालयले उक्त मापदण्ड मातहत कार्यालयमा परिपत्र गरी कार्यान्वयनमा ल्याएको छ ।
फाइदाको बीमा अग्नि
सबैभन्दा कम दाबी पर्ने अग्नि बीमामा ८ प्रतिशत मात्र दाबी भुक्तानी गरिएको छ । बीमा कम्पनीको कुल बीमाशुल्क रकमको औसत ३२ प्रतिशत दाबी भुक्तानीबापत खर्च भएको छ । बीमा कम्पनीहरुको कुल बीमाशुल्कमा अग्नि बीमाको हिस्सा २० प्रतिशत मात्रै रहेको छ । आगलागीको घटना कम हुने र प्रायः आगलागीको झुटो घटना तयार गर्न पनि कठिन भएको कारण यसमा न्यून दाबी पर्ने गर्छ । यद्यपि नेपालमा बिक्री हुन नसक्ने स्थितिका कमसल तथा मिति सकिएका सामान रहेको गोदाममा आगो लगाएर बीमा दाबी गर्ने गरेको समेत पाइन्छ ।
बीमा कम्पनीले ग्राहकको बीमा गर्दा एजेन्टलाई कमिसन र सञ्चालन खर्चबापत करिब ३० प्रतिशत खर्च गर्ने गरेका छन् । बीमा समितिले ३० प्रतिशतसम्म सञ्चालन र १.५ प्रतिशतसम्म प्रवर्द्धन खर्च गर्न पाउने व्यवस्था गरेको छ । पुराना कम्पनीले भने योभन्दा कम सञ्चालन खर्चमा कारोबार गर्ने गरेका छन् । सामान्य स्तरको मुनाफा कमाउन दाबी भुक्तानी ५० प्रतिशतभन्दा कम हुनुपर्ने देखिन्छ ।
९ महिनामा उठ्यो साढे ६ अर्ब
चालू आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीले ६ अर्ब ६० करोड ८८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । यो अवधिमा बीमितको क्षति भएबापत बीमा कम्पनीहरुले २ अर्ब २ करोड रुपैयाँ दाबी भुक्तानी दिएका छन् । यो अवधिमा बीमा कम्पनीले ५ लाख ७५ हजार वटा बीमालेख बिक्री गरेका छन् ।
७३ करोडको हवाइ बीमा
निर्जीवन बीमा कम्पनीहरुले प्रायः सबै प्रकारको बीमालेख बिक्री गर्ने भए पनि हवाइ बीमा सीमित कम्पनीले मात्र गर्ने गरेका छन् । एउटै हवाइ जहाज करोडौं रुपैयाँको पर्ने हुँदा सबै कम्पनीले यस्तो बीमा गर्दैनन् । नेपाली बीमा कम्पनीले हवाइ बीमा गरेर करिब शतप्रतिशत नै बीमा पुनर्बीमा कम्पनीलाई बेच्ने गर्दछन् । नेपाली बीमा कम्पनीको पुँजीकोष सानो भएको कारण ठूलो जोखिम वहन गर्न सक्ने क्षमता नभएको हुनाले हवाइ बीमा पूर्णतः पुनर्बिमामा निर्भर रहनुपर्छ ।
हवाइ बीमाको मार्जिन भने एक आर्थिक वर्षको विवरणबाट औसत मान्न सकिंदैन । विमान दुर्घटना नभएमा यसबाट उच्च नाफा हुन्छ भने दुर्घटना भएमा एकै पटक ठूलो रकम खर्च हुन्छ । यो आर्थिक वर्षको ९ महिनामा करिब ७३ करोडको हवाइ बीमा भएको छ भने दाबी भुक्तानी ४ लाख मात्र भएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.