भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रोम (एजेन्सीहरू), असार १५ - अवैध यौनसम्बन्ध प्रकरणमा इटालीका पूर्वप्रधानमन्त्री ७६ वर्षे सिल्भियो बर्लुस्कोनीलाई सजाय भएमा वर्तमान गठबन्धन सरकार संकटमा पर्ने देखिएको छ । इटालीको मिलान सहरको अदालतले सोमबार उनलाई नाबालिग यौनकर्मीसँग सम्बन्ध बनाएको अभियोगमा ७ वर्ष सजाय सुनाएको छ । अदालतले उनलाई जीवनभरिका लागि कुनै पनि सार्वजनिक पदमा रहनबाट प्रतिबन्ध लगाएको छ । दुई वर्षको अदालती कारबाहीपछि विश्वकै यो चर्चित यौन प्रकरणमा फैसला आएको हो । यो अदालती फैसलापछि राजनीतिमा फेरि उदाउने बर्लुस्कोनीको सपना लगभग खत्तम भएको छ । विश्लेषकहरूका अनुसार इटालीको राजनीतिमा भने यसको प्रतिक्रियात्मक प्रभाव पर्न सक्छ । यो सजायले वर्तमान प्रधानमन्त्री इनरिको लेट्टाको संयुक्त सरकारलाई कमजोर बनाउन सक्छ । बर्लुस्कोनीको दल 'पिपुल अफ फ्रिडम' को समर्थनमा यो सरकार टिकेको छ । यो मामिलामा सरकारले आफ्नो संरक्षण नगरेमा बर्लुस्कोनीले समर्थन फिर्ता पनि लिन सक्छन् । यो अदालती फैसलाले त्यहाँ राजनीतिक अस्थिरता उत्पन्न गर्न सक्छ । यस मुद्दामा भएको बर्लुस्कोनी पक्षको वकिलको अपिलको सुनुवाइपछि अदालतको फैसला लागू हुनेछ । हुन त इटालीका मिडिया टाइकुन बर्लुस्कोनी र उनीसँग नाम जोडिएकी नाइट क्लब डान्सर एवं यौनकर्मी रुबी (करिमा एल महारुग) ले शारीरिक सम्बन्धलाई अस्वीकार गर्दै आएका छन् । बर्लुस्कोनीले यो अभियोगलाई आफूले कदापि नस्विकार्ने बताएका छन् । उनले भने, 'म पूर्णतः निर्दोष छु ।' यो मुद्दामा अभियोजन पक्षले माग गरेको ६ वर्षकोभन्दा थप एक वर्ष बढी सजाय अदालतले सुनाएको छ । बर्लुस्कोनीका अधिवक्ता निकोलो घेडिनीले फैसला आउनेबित्तिकै अदालतमा अपिल गरिसकेका छन् । 'अभियोजन पक्षको मागभन्दा पर न्यायाधीशहरू गएका छन्,' उनले सञ्चारकर्मीसँग भने । लामो र थकित बनाउने खालको अपिलको प्रक्रिया समाप्त नहुन्जेल उनले कारागारमा बस्नुपर्दैन । इटालीको कानुनमा ७० वर्ष नाघेको हकमा नरम सजायको प्रावधान भएकोले उनी जेलमा बस्नु नपर्ने स्थिति पनि आउन सक्छ । अभियोगअनुरूप २०१० मा मिलानस्थित बर्लुस्कोनी निवासमा मोरक्कोकी किशोरी रुबीलाई आमन्त्रण गरिएको थियो । त्यहाँ बर्लुस्कोनीको यौनेच्छा पूर्तिका लागि 'बंगा बंगा' इरोटिक (कामोत्तेजक) पार्टीको आयोजना गरिएको अभियोजन पक्षको आरोप छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.