Widgets

Home » » चन्दा माग्दै विद्यार्थी नेताको यस्तो धम्कि

चन्दा माग्दै विद्यार्थी नेताको यस्तो धम्कि

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, जेष्ठ १२ - केही दिनअघि महाराजगन्जको मेरिडियन स्कुलका एकजना सञ्चालकलाई अखिल क्रान्तिकारीका विद्यार्थी नेता बताउने व्यक्तिले फोन गरेर स्ववियु निर्वाचनका लागि आर्थिक सहयोग मागे । आफूले पत्र छाडेको र झन्डै लाख रुपैयाँ 'सहयोग' गर्नुपर्ने बताएपछि सञ्चालक हच्किँदै त्यति ठूलो रकम सहयोग असम्भव रहेको बताए । फोन गर्नेले धम्की दिँदै भने, 'स्कुल बस, डेस्क बेञ्च र घरको त बिमा गर्नुभएको होला, पीर भएन, तपाईंको टाउको बिमा गरेको छैन होला नि ?' त्यही फोनले उनी अहिले तनावमा छन् । ललितपुर कुमारीपाटीको क्यास्पियन भ्याली कलेजमा शुक्रबार मध्याह्नसम्म सञ्चालक राजेन्द्र बरालको टेबुलमा विद्यार्थी संगठनले चन्दा मागेका सातवटा चिठी थिए । 'चिठीमा अनुरोधको भाषा लेखे पनि चन्दा माग्ने शैली जबर्जस्ती छ,' सञ्चालक बरालले कान्तिपुरसित भने, 'केन्द्रीय नेतासित कुरा गरेर कलेजको अवस्थाअनुसार स्वैच्छिक चन्दा दिने योजनामा छौं । आएजति सबैलाई चन्दा दिन सम्भव छैन/दिइँदैन ।' क्यास्पियनमा चन्दाका लागि केही दिनअघि क्रान्तिकारीकै नाममा धम्की आएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा जेठ २३ गते हुन लागेको स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले चन्दा संकलनमा सबै शक्ति परिचालन गरिरहेका छन् । अलि दिन सक्ने व्यक्तिहरूमा चन्दाको हैरानीमात्रै छैन आतंक नै छ । त्यसको सबैभन्दा बढी मारमा निजी शिक्षण संस्था, उद्योग/उद्योगी र क्याम्पस छेउका पसले छन् । चन्दा माग्न एमाओवादीको अखिल क्रान्तिकारी, एमालेको अनेरास्ववियु, कांग्रेसको नेविसंघ, वैद्य माओवादीको अखिल -क्रान्तिकारी) अगाडि छन् । नामै नसुनेका विद्यार्थी संगठन पनि चन्दाको चिठी काटिरहेका छन् । निजी शिक्षण संस्था हेरेर विद्यार्थी संगठनले ६ हजारदेखि ५० हजार रुपैयाँसम्म मागेको पीडितहरू बताउँछन् । नाम चलेका केही ठूला विद्यालयले ५० हजार रुपैयाँसम्म चन्दा दिने आश्वासन दिएका छन् । प्याब्सनका एकजना पदाधिकारीका अनुसार ठूला विद्यालयले धेरै चन्दा दिँदा त्यसको मार सानालाई परेको छ । चन्दा आतंक बढेको बताए पनि त्यसबारे खुलेर बताउन चाहने कमै छन् । ताहाचल क्याम्पस क्षेत्रमा स्टेसनरी सञ्चालन गर्दै आएका एक व्यापारीका अनुसार हरेक संगठनबाट कम्तीमा ५ हजार रुपैयाँ चन्दा माग्दै आएका छन् । दिन नसक्ने बताउँदा 'परेका बेला नसघाउने भए चलाउन मन छैन ?' भन्दै धम्क्याउने गरेको उनले सुनाए । स्ववियु चुनावमा हुने सम्पूर्ण खर्च विद्यार्थी संगठनले यस्तै चन्दाबाट संकलन गर्छन् । कति चन्दा संकलन भयो, हिसाब पारदर्शी भने हुने गरेको छैन । क्याम्पसको स्तर हेरेर एउटा संगठनले कम्तीमा ५० हजारदेखि ६ लाख रुपैयाँ सम्म चुनावी खर्च गर्छन् । यसबाहेक केन्द्रीय तहमा हुने खर्च कम्तीमा १२ देखि २० लाख रुपैयाँसम्मको छ । त्यसमा केन्द्रीय पदाधिकारीको यात्रादेखि चुनावको प्रचार सामग्री निर्माण र ढुवानीसम्म पर्छ । अखिल क्रान्तिकारीले केन्द्रमा कम्तीमा १२ लाख र कीर्तिपुरको केन्द्रीय वा आरआर जस्तो प्रतिष्ठा जोडिएको क्याम्पसमा कम्तीमा ४ लाख खर्च हुने अनुमान गरेको छ । 'सहयोग नउठाउनुको विकल्प छैन तर क्रान्तिकारीले कसैलाई धम्की दिएको छैन । धम्की दिनेको नम्बर उपलब्ध गराए हामी कारबाही गर्छौं,' क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले भने, 'हामीले कसैलाई जबर्जस्ती गरेका छैनौं । केन्द्रीय कार्यालयबाट हिमाल शर्माले हस्ताक्षर गरेको मोबाइल नम्बरसहितको पत्र पठाइएको छ । त्यसबाहेक स्थानीय तहमा सम्बन्धित इञ्चार्जमार्फत आर्थिक संकलन भएको छ ।' स्ववियु चुनावका लागि संगठनका नाममा कोही व्यक्तिगत रूपमा चन्दा उठाउन आए नदिन उनले सुझाव दिए । त्रिविका ६० आंगिक र सम्बन्धनप्राप्त गरेर करिब ५ सय क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । विद्यार्थी संगठनको शैली हेर्दा स्ववियु चुनावमा कुल डेढ करोड रुपैयाँभन्दा बढी खर्च हुने देखिन्छ । 'पैसा नभएर हामीले यसपालि पोस्टर नछाप्ने भयौं,' एमाले अखिलका अध्यक्ष माधव ढुंगेलले भने, 'पोस्टर छाप्न कम्तीमा २० लाख लाग्ने देखियो । यति ठूलो रकम संकलनको सम्भावना देखिएन । हामीसित पैसा छैन । हामी घोषणा पत्रबाहेक केही नछाप्ने भयौं ।' अखिलले पनि केन्द्रीय तहमा कम्तीमा १० लाख रुपैयाँ र क्याम्पसअनुसार ४० हजारदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरेको छ । पार्टीका शुभेच्छुक, पूर्वनेता, व्यापारी तथा सम्पर्क मञ्च लगायतसित आर्थिक सहयोग लिने बेला यही भएकाले चन्दा स्वाभाविक भएको ढुंगेलले बताए । स्ववियु चुनाव अत्यन्त खर्चिलो र भडकिलो बन्दै गएको विद्यार्थी नेता पनि स्वीकार्छन् । नेकपा-माओवादीको अखिल (क्रान्तिकारी) ले चुनावी खर्च करिब ६० लाखको अनुमान गरेको बताए । 'तडकभडकभन्दा स्ववियु निर्वाचनलाई सभ्य बनाउन चाहेका छौं,' उनले भने, 'चन्दा माग्ने र धम्क्याउनेहरू बढेका छन् । आधिकारिक व्यक्तिसित नभेटी फोनकै आधारमा चन्दा नदिन हाम्रो अनुरोध छ । क्रान्तिकारीले कसैलाई धम्क्याएको छैन ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger