Widgets

Home » » 'चुनाव जति सर्‍यो, त्यति चुनौती’

'चुनाव जति सर्‍यो, त्यति चुनौती’

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

surya prasad shresth

चुनावी दिन जति पर सर्‍यो, त्यति नै समस्याको चाङ लाग्ने ठान्छन्- पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ । उनी असारमा चुनाव हुन नसके मंसिरमा निर्वाचन गराउन झन् कठिन पर्ने र त्यतिबेला जटिल समस्या देखा पर्न सक्ने विश्लेषण गर्छन् । प्रमुख आयुक्तका रुपमा उनले पञ्चायत र बहुदलीय व्यवस्था दुवैको चुनावी अनुभव बटुलेका थिए । उनैको नेतृत्वमा २०४८ मा संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो । गएको संविधानसभा चुनावका बेला मुलुकले अपनाएको पद्धतिसँगै धेरैखाले राजनीतिक भद्रगोल भित्रिएको विश्लेषण गर्ने श्रेष्ठ त्यही प्रकृतिको पद्धतिमा चुनावले 'संविधान निर्माण गर्ने र स्थायित्व दिने' मा शंका गर्छन् । श्रेष्ठसँग चुनावी गृहकार्य, दलहरुबीच यतिखेर देखा परेको एक प्रतिशतको राजनीति र चुनावी शुद्धीकरणका सवालमा कान्तिपुरका हरिबहादुर थापा र राजेन्द्र फुयालले शनिबार बिहान गरेको कुराकानी : फेरि दोस्रोपटक संविधानसभाको निर्वाचन हुँदै छ, चुनावसम्बन्धी तयारी र गृहकार्यलाई कसरी हेरिरहनुभएको छ ? निर्वाचन आयोगले शून्यबाट तयारी सुरु गरेको होइन । गएको जेठमा संविधानसभाको अवसान हुनासाथ आयोगले निर्वाचन सम्बन्धी तयारी सुरु गरेको थियो । आयुक्तहरू नियुक्ति हुनुअगावै तयारीहरू प्रशस्त मात्रामा भएका हुन् । आयोग आफ्ना काममा लागिरहेकै थियो । तयारी हुँदाहुँदै पनि निर्वाचन पूर्वसन्ध्यामा निरन्तर प्रश्न उठिरहने विषय बनेको छ- मतदाता सूची । यसअघि पनि धरैपटक मतदाता सूचीमा विभेद भएको हो । तराईमा मतदाता छुटिरहेका छन् भनी प्रश्न उब्जने र सहभागी गराउने क्रम निरन्तर छ । यो काम कहिले पनि टुंगिएको छैन । यसलाई फेरि संवेदनशील राजनीतिक मुद्दाका रूपमा उठाउन थालिएको छ । अघिल्लोपटक पनि विशेष निर्णय गरेर नागरिकता वितरण र मतदाता नामावली संकलन गरिएको हो । पाँच वर्षमा यसमा वृद्धि हुनु स्वाभाविक हो । तर फेरि कतिले पाएनन् भन्ने मुद्दा उठिरहेको छ । सधैंभरि समस्याका रूपमा उठाइएको यो मुद्दालाई कहीं न कहीं पूर्णविराम लगाउनुपर्छ । बीचमा जतिले नागरिकता पाएका छन् उनीहरूका छोराछोरीका हकमा फोटोसहितको नामावली सूचीमा समावेस गर्नुपर्छ । यसमा एउटा 'कट अफ प्वाइन्ट' हुनैपर्छ । १८ वर्ष उमेर पुगेकालाई मताधिकार हुन्छ भनेपछि कुन दिनलाई 'कट अफ प्वाइन्ट' मान्ने भन्ने हुन्छ । यसमा निहुँ खोज्ने काम हुन सक्छ । हामीकहाँ हरेक चुनाव राजनीतिक नेतृत्वले गराउँदै आएको छ, पहिलोचोटि गैरराजनीतिक व्यक्तिहरू सामेल सरकार बनेको छ । यसले चुनाव गराउन सक्दैन कि भन्ने आशंका पालिएको हुँदा तपाईंले कसरी हेरिरहनुभएको छ ? चुनावमा प्रतिस्पर्धा भनेको राजनीतिक दलहरूबीच हो । यसपालि निर्वाचन निष्पक्ष गराउन कर्मचारीको सरकार बनाइएको छ । राजनीति यो हदसम्म पुग्यो कि न्यायालयलाई समेत सहभागी गराइयो । प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु सिद्धान्ततः मिल्ने कुरा होइन । तर हाम्रा नेताहरू त्यो दिशामा पुगे । प्रधानन्यायाधीशलाई सत्ताको नेतृत्व सुम्पेपछि 'मिलाइयो' भनी खुब भाषण गर्नुहुन्छ । उहाँहरू प्रचलित शक्तिसन्तुलनको सिद्धान्तअनुसार प्रस्तुत हुनुभएको छ । हाम्रा यी नेताहरू शक्ति पृथकीकरणको सिद्धान्तका दर्शनशास्त्री होइनन् । तर उहाँहरूले दर्शन र संविधानवादको अध्ययन गरेको पाइएन । मन्टेस्यु, लक, एडम स्मिथ, आइभर जेनिङजस्ता दर्शनशास्त्रीले ठूलो अध्ययनबाटै शक्ति पृथकीकरणको सिद्धान्त प्रतिपादन गरेका हुन् । उनीहरूले जिन्दगीभरि अध्ययन अनुसन्धान गरेर दिएको निष्कर्षलाई त्यत्तिकै चुनौती दिन त सुहाउँदैन । त्यसको असरबारे हाम्रा नेताहरू अनभिज्ञ छन् । नेताहरू जसरी प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन 'सबै कुरा मिलेको छ' भन्नुहुन्छ, मलाई त्यो पत्यारिलो लागेको छैन । चुनावका चुनौती केके देख्नुभएको छ ? कानुन व्यवस्थाको कार्यान्वयन नै निर्वाचनको मुख्य चुनौती हो । दलहरू सहमतिको कुरा गर्छन्, सहमतिको संकेत देखिएको छैन । चुनावको प्रक्रियाभन्दा बाहिर रहेका दलहरूलाई कसरी ल्याउने भन्ने प्रमुख चुनौती छँदै छ । अर्कातिर गैरराजनीतिक भनिए पनि दलीय 'ट्याग' लगाएर पूर्वनिजामती कर्मचारीलाई मन्त्री बनाइएको छ । तिनीहरूमार्फत् दलहरूले 'भूमिगत गिरोध' का रूपमा शासन सञ्चालन गर्न खोज्दै छन् । त्यो दृश्य अरू दललाई पचेको छैन । यसले चुनावी प्रक्रियाभन्दा बाहिर रहेका दललाई अझ टाढा पुर्‍याउँदै छ । दलहरू पर्दापछाडि बसेर काम गराउन खोज्दा धेरैखाले विरोधाभास सिर्जना भएका छन् । सरकारका काँधमा बन्दुक राखेर दलहरूले बन्दुक चलाउने त होइनन् भन्ने आशंका व्याप्त हुँदै छ । निर्वाचनका लागि तटस्थ सरकार बनाएको हो भने त्यहाँ दलहरूले हस्तक्षेप गर्नु हुँदैन । हस्तक्षेप भएको संकेत बाहिरसम्म चुनावी माहोल बन्न गाह्रो हुन्छ । निर्वाचनप्रति दलहरूको प्रतिबद्धता कस्तो पाउनुभएको छ ? कुनै पनि दलहरू चुनावमा जाँदैनौं भन्न सक्दैनन । बाहिर भएकाले पनि निहुँ खोज्न मात्रै भनेका हुन् । राजनीतिक दलले निर्वाचनमा जान्नँ भन्नु त जनमत गुमाउनु हो । उसले जनमत गुमाउने कुुरा गर्नु हुँदैन । निर्वाचनमा सत्ताको दुरूपयोग कसरी गर्न सकिन्छ भन्ने षड्यन्त्रमा दलहरू देखिन्छन् । तर त्यस्तो सोचले काम गर्दैन । म प्रमुख आयुक्त हुँदाको चुनावमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नै चुनाव हारे । दलले आफू हारे पनि सत्ता दुरूपयोग गर्दिनँ भन्ने सन्देश दिनुपर्छ । पञ्चायतकालमा तराईकै नारा दिने वेदानन्द झाले गृहमन्त्री भएर चुनावमा जाँदा पनि क्षेत्रबाट हारेका थिए । चुनावका निम्ति सरकारले के गर्नुपर्छ ? पहिलो त, सरकारले आफू निष्पक्ष भएको सन्देश दिनुपर्छ । असंवैधानिक रूपमा शक्ति खेलाउन खोज्नेहरूको औजार बन्नु हुन्न । त्यसपछि चुनावका निम्ति कानुन, आर्थिक स्रोत, जनशक्ति, सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । निर्वाचन आयोगबाट एक प्रतिशत मत नल्याउनेको प्रतिनिधित्व नहुने कानुनी प्रस्तावलाई लिएर राजनीतिक दलहरूबीच विवाद सुरु भएको छ, यो विवाद ठीक हो या बेठीक ? राजनीतिक दलको 'कट अफ लाइन' को विवाद हो र दलीय पद्धति कता लैजाने भन्ने सवाल पनि हो । लोकतान्त्रिक अभ्यास गरिरहेका संसारका हरेक मुलुकमा 'कट अफ लाइन' हुन्छ, त्यसमा प्रतिशत तलमाथि हुन्छ । कतिपय देशमा दुईदेखि चार प्रतिशतसम्म 'कट अफ लाइन' को व्यवस्था गरिएको छ । नेपालले २०४७ को संविधानमा तीन प्रतिशत मत नल्याउनेलाई राष्ट्रिय पार्टीको मान्यता नदिने अभ्यास गरिसकेको हो । त्यही कारण उतिबेला नेपाल मजदुर किसान पार्टीले 'राष्ट्रिय पार्टी' को मान्यता नपाएको हो । निर्वाचन आयोगबाट प्रस्तावित एक प्रतिशतको थ्रेस होल्ड कत्तिको ठीक हो त ? एक प्रतिशत ज्यादै कम हो । निर्वाचन आयोगमा १ सय २८ दल दर्ता भएको सुन्छु । अझै दर्ताका लागि ढोका खुल्छ । पार्टी दर्ता भए पनि सबै चुनावमा जान सक्दैनन् । पहिला पनि ७४ थिए, ५४ वटाले चुनावमा भाग लिए । मैले नै भोगेको छु- एउटा परिवारै आए, अनि यो पार्टी हो भने । उनीहरूले निर्वाचनमा भाग लिने भन्दै दर्ता गरे । यहाँ हरेक परिवार पार्टी भएर निस्किने अवस्था आइसक्यो । त्यसो हुँदा समानुपातिक प्रतिनिधित्व अपनाउने मुलुकमा जहाँ पनि 'थ्रेस होल्ड' किटान हुन्छ । यस्तो थ्रेस होल्ड नभई नहुने चाहिं किन ? यसले पार्टीको संख्या घटाउँछ । दलहरूले यसबारे धेरै बुझेजस्तो लागेन । कम्तीमा मुलुक र दलीय निम्ति के गर्दा फाइदा हुन्छ भन्ने सामान्य विश्लेषण हुनुपर्थ्यो । अझ यतिखेर समाज र दलीय पद्धतिमा यति धेरै विखण्डन आएको छ कि त्यो किटान नगरिँदा झन् अराजकता सिर्जना हुन्छ । विगतमा हामीकहाँ यसरी सामाजिक विभाजन पनि थिएन । सामाजिक संरचना बिग्रेका बेलामा बुद्धि पुर्‍याएर निर्णयहरू लिनुपर्छ । तपाईंको विचारमा कति प्रतिशत प्राप्त गर्नेलाई प्रतिनिधित्व गराउनु उपयुक्त हुन्छ ? संविधानसभामा प्रतिनिधित्वका लागि न्यूनतम २ प्रतिशत मत आएको हुनुपर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । राजनीतिक पार्टी भनेको निर्वाचन प्रणालीका उपज -ह्यान्ड मेड अफ द इलेक्ट्रोरल सिस्टम) हुन् । कतिवटा पार्टी राख्ने हामीले निर्धारण गर्नुपर्छ । अमेरिकामा किन दुईवटा दल भए, बेलायतमा किन तीन ? भारतमा क्षेत्रीय पार्टी धेरै भए पनि राष्ट्रिय पार्टी किन थोरै छन् त ? यी सबै निर्वाचन प्रणालीका उपज हुन् । यहाँ हामी तथ्यलाई बिर्सेर जे पनि हुन्छ भन्नेमा लागिरहेका छौं । यसो हुनुमा दलीय पद्धति नबुभmनु हो । नेपालमा ३० वर्षसम्म निर्दलीय अभ्यास भयो । हाम्रा दल र नेताहरूको दिल र दिमागमा त्यसको अवशेष बलियो गरी बसेको छ । नत्र दलीय पद्धतिमा 'सहमति' शब्द किन संविधानमा लेख्नुपथ्र्यो ? प्रतिस्पर्धात्मक बहुलवादी व्यवस्थामा राजनीतिक दल स्वतन्त्र हुनुपर्छ, निषेध गर्न पाइँदैन एकतिर भनिँदै छ भने अर्कातिर सहमतिको राजनीति अनिवार्य भनिएको छ । यो विरोधभास तीस वर्षको निर्दलीय अवशेषको उपज हो । हामीले भनेपछि 'मान्नैपर्छ' भन्ने सोच नेताहरूमा छ । त्यतिबेलाका राजामा यही सोचाइ थियो । तर प्रतिशतको सीमा कोरिँदा संविधानसभामा समावेशी प्रतिनिधित्व हुन दिँदैन भन्ने आवाज उठिरहेको छ नि त ? त्यो गलत तर्क हो । नेपालमा राजनीतिक अस्थिरता आउनुमा निर्वाचन प्रणाली एक कारण हो । बाह्य मुलुकले लामो अध्ययन, अनुसन्धान, अभ्यासपछि चुनावी पद्धति अपनाएका छन् । पचास प्रतिशतभन्दा बढी मत ल्याउनेले जित्दा त्यसभन्दा कम ल्याउनेको मत खेर जाने भन्ने मान्यता राखिँदैन । लोकतन्त्रमा विपक्षीको पनि समान भूमिका हुन्छ । प्रतिपक्षको छायाँ क्याबिनेट हुन्छ । उसले सरकारको आलोचना गर्छ । आलोचना नभई सरकार सही बाटोमा हिँड्न सक्दैन । प्रतिपक्ष पनि बलियो हुनुपर्छ भन्ने मान्यता छ । त्यसैले म त्यो भोट खेर गयो भन्ने मान्दिनँ । अर्कातिर राजनीतिक दल नै समावेशी हुनुपर्छ । समावेशी प्रतिनिधित्व त्यतिबेला हुन्छ, जतिबेला सबैलाई समान रूपमा चुनावमा जान दिइनुपर्छ । यो व्यक्तिगत स्वतन्त्रता र अधिकार कुण्ठित नगरीकन चुनाव लड्न दिनु नै अधिकतम उपयोग हो । वयस्क मताधिकारको विश्वव्यापी सिद्धान्त त्यसै भएको होइन । कानुनका नजरमा सबै नागरिक समान छन् । संयुक्त राष्ट्रसंघले अनिवार्य वयस्क मताधिकारको सिद्धान्तलाई आधारभूत मानवअधिकारका रूपमा परिभाषित गरेको छ । जातजाति-क्षेत्र तोकी चुनाव प्रणालीलाई संकीर्णताको घेराभित्र लैजानु हुँदैन । प्रतिनिधित्व प्रणालीलाई कसरी बढी समावेशी बनाउन सकिन्छ त ? निर्वाचन क्षेत्र खुला हुनुपर्छ । जो पनि जहाँबाट पनि लड्न पाउने स्वतन्त्रता हुनुपर्छ । त्यसबाट आएको सरकार मात्र जवाफदेही हुन्छ । जनताप्रति जवाफदेही सरकारले मात्र त्यस्तो विपन्नताबाट माथि उठाउने प्रयास गर्छ । देशको आर्थिक सामाजिक क्षेत्रमा जवाफदेही हुनैपर्ने अवस्था आउँछ । तर एउटा जातिका निम्ति, क्षेत्रका निम्ति जवाफदेही भए पुग्ने अवस्था आयो भने राजनीति झन् सम्हाल्न नसक्ने हुन्छ । दल र प्रतिनिधित्व समावेशी हुनुपर्छ । हाम्रो सामाजिक विकासका क्रममा सबै क्षेत्रमा वरिष्ठ जातजातिको वर्चस्व रहेको छ । त्यसलाई कानुन, राजनीति र सामाजिक व्यवस्थाले परिवर्तन गर्नुपर्छ । आर्थिक दृष्टिले निरीह रहेकाहरू विपन्नताबाट उक्सिनैपर्छ भन्नेमा विवाद छैन । निर्वाचनलाई कम खर्चिलो र भड्किलो हुन नदिन के गर्नुपर्छ ? निर्वाचनका लागि आयोगले मात्र ७-८ अर्ब खर्च गर्नुपर्ने अवस्था छ । सुरक्षा निकायका लागि उत्तिकै खर्च हुन्छ । दलहरूको खर्च कम गर्न आचारसंहितामा आयोगले गर्न खोजेको कडाइ स्वागतयोग्य छ । चुनावी अभियानको समय घटाउँदा दल र उम्मेदवारको खर्च घट्छ । भित्ता लेखेर फोहोर गर्ने, महँगा पर्चा-पम्प्लेटमा आयोगले नियन्त्रण गर्नुपर्छ । चुनावका क्रममा फोहोर पारिएका भित्ता सफा गर्न विदेशी सहायता माग्नुपर्ने दिन आउन दिनु हुन्न । उम्मेदवार सम्पत्ति सार्वजनिक गर्नुपर्ने/नपर्नेसम्मका प्रावधानमा विवाद भइरहेको छ ? कानुन बनाउँदा आदर्शमा बहकिएर मात्र हुन्न । धेरैखाले प्रावधान राख्दा निर्वाचन आयोग उजुरबाजुर र झगडियाको अड्डा मात्र हुन पुग्ने खतरा हुन्छ । मेरो भनाइको मतलब बैंक ठगीको कालोसूचीमै परेकाहरू आउनुपर्छ भन्ने होइन । निर्वाचन आयोगलाई भार नपर्ने गरी त्यसको छानबिन गर्ने अरू उपाय हुनुपर्छ भनेको हो । फौजदारी अभियोगमा सजाय पाएकाले पनि चुनाव लड्न पाउनुपर्छ भन्ने विवाद उठेको छ, यो ठीक हो ? सामान्यतः निर्वाचन कसुरमा सजाय पाएकालाई दुई वर्ष चुनाव लड्न नपाउने हुन्छ । फौजदारी अभियोगमा ६ वर्ष किटान गरिएको हुन्छ, यसो गरिनुमा दुईपटक छुने गरी उम्मेदवार बन्न रोकिएको हो । तर त्यसमा सरकारले सूचना प्रकाशित गरी फौजदारी अभियोगभित्र केके पर्ने भन्ने सार्वजनिक गर्नुपर्छ । निर्वाचन ऐनमा धेरै कुरा लेख्ने होइन । उम्मेदवारको योग्यतामा फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्छ भन्ने लेखिदिए पुग्छ । फौजदारी अभियोगमा सजाय अपराधी र भ्रष्टाचारीलाई ६ वर्षपछि उम्मेदवार बन्न दिएका खण्डमा राजनीतिमा अपराधीकरणको बोलवाला चल्दैन र ? यसमा एउटा बिन्दु राख्नु उचित हुन्छ । उम्मेदवार हुन पाएमा पनि त्यस्ता पात्रहरूको प्रतिनिधित्व न्यून नै हुन्छ । निर्वाचन हुने र नयाँ संविधान बन्नेमा तपाईं कत्तिको आशावादी हुनुहुन्छ त ? गएको संविधानसभा चुनावसँगै निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नाले राजनीतिक दलहरू शिथिल भएका छन् । दलहरू निर्णय गर्न नसक्ने र गरिहालेमा कार्यान्वयनमा लैजान नसक्ने अवस्थामा पुगेका छन् । त्यही चुनावी प्रणालीकै कारणले थुपै्र समूह जन्माएको छ । दुई जना भएको दल पनि विभाजित भएका छन् । यो राष्ट्रले धान्न नसक्ने गरी जन्मनुले स्थिर शासन बन्न सक्दैन । जनताप्रति उत्तरदायी भएको जवाफदेही सरकार बन्न सकेन । प्रधानमन्त्रीका लागि १६ पटक निर्वाचन हुन पुग्यो । राजनीतिक सहमति भनियो, आखिर बहुमतीयमा जानुपर्‍यो । यही प्रणालीका आधारमा हुने चुनावले संविधान नदिन सक्छ । यसले जातीय, साम्प्रदायिक द्वन्द्व बढाएको छ । यो विस्फोटन हुन मात्र बाँकी छ । सामाजिक अन्तरद्वन्द्व बढाएको छ । रेमिट्यान्सले मात्र मुलुक टिकेको छ । यस्तो अवस्थामा अब हुने निर्वाचनले पनि राजनीतिक स्थायित्व दिने र भनेजस्तो संविधान आउँछ भन्नेमा विश्वस्त हुने ठाउँ छैन । खालि तुष्टीकरणको राजनीतिले बढावा पाएको छ । तर जनताको प्रतिनिधित्व प्रणालीमा विश्वास गर्नुपर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger