Widgets

Home » » सम्बन्ध नवीकरण गर्न दाहाल चीनतिर

सम्बन्ध नवीकरण गर्न दाहाल चीनतिर

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पूर्ण बस्नेत, हङकङ, चैत २२- चीनको नयाँ नेतृत्वले 'असल छिमेकी' राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्ने नीति अनुसार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बेइजिङ निम्त्याएको छ। नयाँ वर्षको शुरुवातसँगै हुने चौथो चीन भ्रमणको क्रममा दाहालले बेइजिङको ग्रेट हलमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खच्याङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भैसकको छ। बदलिएको परिस्थितिमा हुने भेटवार्ता द्विपक्षीय सम्बन्ध सुदृढ गर्न महत्पूर्ण हुने विश्वास गरिएको छ। वैशाख १ बाट सुरु हुने साता लामो भ्रमणको क्रममा दाहालले दक्षिण चीनको चेङ्दुस्थित सिचुवान युनिभर्सिटिमा राजनीतिक मन्तव्य दिनेछन्। त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री सहित चिनियाँ कम्युनिष्ट पार्टीको पाँचौँ पुस्ताका शीर्र्ष नेताहरूसँग बेइजिङमा उनको भेटवार्ता हुनेछ। दाहाललाई बेइजिङका 'असल मित्र' ठान्ने चिनियाँ कम्युनिष्ट पार्टीका एक जना दक्षिण एसिया विश्लेषक शेरम ली छिमेकलाई प्रथामिकता दिने नीति अनुसार यो भ्रमण आयोजना गरिएको अर्थ्याउँदै भन्छन्, 'बेइजिङको भेटवार्ताले नेपालसँगको रणनीतिक साझेदारीलाई सुदृढ गरी सम्बन्धलाई नयाँ आयाम दिनेछ।' बेइजिङस्थित राजदूत महेश मास्केका अनुसार चीनको नयाँ नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेर अध्यक्ष दाहाललाई भ्रमणमा निम्त्याएको हो। 'उच्चस्तरीय राजनीतिक समितिका संयोजक र माओवादी अध्यक्षका हिसावले दाहालसँग चीनको शीर्ष नेतृत्वले भेटवार्ता गर्न खोजेको सहजै बुझ्न सकिन्छ', बेइजिङको नयाँ नेतृत्वले महत्वपूर्ण छिमेकीसँग सम्बन्ध सुदृढ गर्न खोजेको बताउँदै मास्के भन्छन्, 'चीन र नेपालको बदलिएको परिस्थितिमा यो भेटघाटको ठूलो अर्थ छ।' मार्चमा राष्ट्रिय जनकँग्रेसको बैठकबाट राष्ट्रपति चयन भए लगत्तै रुस र अफ्रिकाको भ्रमण गरेपछि राष्ट्रपति सि छिमेकी देशहरूतिर फर्किएका हुन्। चीनको नयाँ नेतृत्वले दाहालअघि म्यानमारका राष्ट्रपति यू थीन सीनसँग भेटवार्ता गर्दैछ। काठमाडौँबाट फर्केर याङगुनमा खटिएका बेइजिङका दूत याङ होउलानले चीन र म्यानमारका राष्ट्रपतिबीच हुने भेटवार्तामा द्विपक्षीय रणनीतिक साझेदारीका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने बताएका छन्। दाहाललाई निम्त्याएर बेइजिङको नयाँ नेतृत्वले म्यानमारपछि चीनको छिमेक प्राथमिकतामा नेपाल परेको संकेत दिएको छ। दक्षिण एसियाका नेताहरूसँग भने चीनका नयाँ राष्ट्रपतिको यो संभवतः दोस्रो भेट हुनेछ। गत साता दक्षिण अफ्रिकामा ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) को सम्मेलनको क्रममा सीले क्षेत्रीय प्रतिस्पर्धी भारतका प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए। काठमाडौँमा अध्यक्ष दाहाललाई भेटेपछि केही साताअघि भारतीय नेताहरूले 'चीनबाट निम्तो आएको भए पनि पहिला भारत भ्रमण गर्ने' उनको चाहना रहेको सार्वजनिक गरेका थिए। तर दोस्रो आर्थिक शक्ति राष्ट्र चीनको पाचौँ पुस्ताका नेता सी र लीसँग भेटवार्ता गर्ने आकांक्षालाई अगाडि बढाउँदै दाहाल फेरि उत्तरतिरै मोडिएका छन्। यद्यपी दक्षिणको छिमेकी भारतसँग पुनर्स्थापना भइरहेको सम्बन्ध नखलबलियोस् भनेर दाहालले चीन भ्रमण टोलीमा पार्टीका अरु नेतालाई समावेश नगरी 'लो प्रोफाइल' मा राख्न खोजेका छन् भने बेइजिङपछि दिल्ली जाने उद्घोष पनि सँगै गरेका छन्। प्रधानमन्त्री भए लगत्तै २००८ मा ओलम्पिक समापन समारोहमा सहभागी हुन् बेइजिङ पुगेर दाहालले नेपाल सरकार प्रमुखले भारतबाट राजनीतिक भ्रमण शुरु गर्ने परम्परा तोडेका थिए। त्यसले निम्त्याएको क्षेत्रीय तनावले दिल्ली-माओवादी सम्बन्ध त धरापमा पर्‍यो नै, २००९ मा चीनको राजनीतिक भ्रमण गर्ने योजना रद्द गरी दाहालले प्रधानमन्त्रीबाटै राजिनामा दिए। एकीकृत माओवादीको प्रतिनिधि मण्डलको नेतृत्व गरी २०१० मा बेइजिङ पुगेका दाहालले तत्कालीन राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव हु जिन्ताओसँग भेटवार्ता गरी पार्टी सम्बन्ध स्थापना गरे। सांघाई वर्ल्ड एक्स्पो अवलोकन गर्ने क्रममा २०१० को अक्टोबरमा तेस्रो पटक चीन भ्रमण गर्दा दाहालको दिल्लीप्रतिको आक्रोश मत्थर भैसकेको थियो। सांघाईमा उनले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राख्दै देङ सियाओपिङको आर्थिक विकास नीतिको प्रशंसा गरी आफु बदलिएको स्पष्ट संकेत गरेका थिए। हेटौँडा महाधिवेशनबाट त्यसलाई अनुमोदन गराएर शक्तिशाली अध्यक्षका रुपमा उदाएका दाहालको यो चौथो चीन भ्रमण पहिलेका तीन भन्दा अलि फरक हुनेछ। माओवादीको विचार र चीनको नेतृत्व परिवर्तनको प्रभाव ग्रेट हलको भेटवार्तामा देखिनेछ। शान्ति प्रक्रिया टुङ्गोमा पुगेको अवस्थामा नयाँ चुनावसँगै बेइजिङको प्रयास संविधान निर्माणको क्रममा जातीय संघीय प्रणालीबाट माओवादीलाई मोड्नु हुनेछ। दीर्घकालीन रुपमा तिब्बतको सुरक्षा प्रभावित हुने तर्क सहित बेइजिङले संघीय प्रणालीमा पुनर्विचार गर्न नेपालका दलहरूलाई आग्रह गर्दै आएको छ। काठमाडौँमा हालै दलाई लामा समर्थक तिब्बतीले गरेको आत्मदाहको घटनाबाट झस्किएको बेइजिङको नयाँ नेतृत्वले 'एक चीन' नीति अन्तर्गत फ्रि तिब्बती गतिविधि नियन्त्रण गर्ने काठमाडौँको व्यवहारिक प्रतिवद्धता खोज्नेछ। मास्के भन्छन्, 'नेपालमा चीनको आर्थिक लगानी र दुई पार्टीबीचको सम्बन्धले बेइजिङ भेटवार्तामा महत्व पाउने देखिन्छ।' हेटौँडाबाट जनयुद्धको नीति परित्याग गरी एकीकृत माओवादीले चिनियाँ कम्युनिष्ट पार्टीकै शैलीमा पूँजीवादी आर्थिक विकासको बाटो तय गरेकाले ग्रेट हलमा दुई पार्टीका शीर्ष नेतृत्वले वैचारिक रुपमा आफुहरू झन् नजिकिएको पाउनेछन्। वैचारिक रुपान्तरण सहित भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्न उत्सुक माओवादी बेइजिङका लागि पनि अनुकुल देखिन्छ। नयाँ चीनले पनि दक्षिण एसियामा दाहाललाई प्राथमिकतामा राखेको प्रमाण हो यो। भ्रमण विवादको घेरामा परेन भने नेपालले यसको महत्व सावित गर्न सक्नेछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger