Widgets

Home » , » उकालोका थर्पु

उकालोका थर्पु

Written By sangalo on Tuesday, September 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दिउँसोको ३ जति बजेतिर राजधानीबाट सय किमि टाढा रसुवाको राम्चेमा यात्रु बस रोकियो । सहचालकले आदेश गरे- अब सबै ओर्लनुस् । आ-आफ्नो झोला बोकेर यात्री धुन्चेतिर लागे । त्यहाँबाट धुन्चे पुग्न करिब १८ किमि रहेछ । १५ मिनेट हिँड्नेपछि अर्को बस चढ्यौं । बस गुडेको १० मिनेटमै कन्डक्टरले प्रतिव्यक्ति ४० रुपैयाँ भाडा असुले । यति थोरै दूरीको भाडा कति महँगो, यात्रीको प्रश्न नसकिँदै कन्डक्टरले उत्तर दिए, गोसाइँकुण्ड मेलाभरिका लागि समितिकै निर्णय बमोजिम १० रुपैयाँ थप गरिएको रहेछ ।
मुसलधारे वषर्ासँगै ग्राङ भन्ने स्थानमा अर्को पहिरो रहेछ, यात्री फेरि बसबाट ओर्लिए । माथिबाट ठूलाठूला ढुंगा खस्न थाल्यो । सयौं तीर्थयात्री चिच्याउँदै भागाभाग गर्न थाले । कोही यात्री सकिनसकी बुटा समात्दै पहिरोको माथिल्लो भागतिर उक्ले । भीरबाट तल खस्ने डरले यात्रीहरू हातखुट्टै टेकेर हिँड्न थाले । झन्डै पोनै घन्टाको कठिन यात्रापछि पहिरो छल्न सकिन्थ्यो । कोही ढुंगा खस्दाखस्दै सडक पार गर्न थाले । एक वृद्धा  पहिरोको बीचमा परिन् । ढुंगा पल्टिँदै थियो, डरले उनी कराउन थालिन् । कोलाहल मच्चियो । बडेमानको ढुंगा उनको छेवैबाट झर्‍यो, उनलाई लागेन । दैनिक हजारौं यात्री आवज-जावत गर्दै गर्दा सडक खुलाउने र सुरक्षा दिने निकायको उपस्थिति भने देखिँदैनथ्यो ।
त्यहाँबाट ४५ मिनेट जतिको पैदल यात्रापछि अर्को बस पाइयो । वषर्ा नरोकिएकाले माथिल्लो भागबाट ढुंगा लड्ने र पहिरो खस्ने त्रास कायम थियो । बस एउटै हो अर्को आउँदैन, कन्डक्टरले कराउँदै हामीलाई धकेल्दै भित्र कोचे । धुन्चे आउनै लाग्यो, उनले कराए, पैसा छिटो झिक्नुस् । उनले प्रतियात्री ३० रुपैयाँ असुले । साँझ धुन्चे पुग्यौं । भोलिपल्ट रिमरिम उज्यालोदेखि नै घट्टेखोलाको उकालो चढ्नेको लर्को अघि बढ्यो । ४३ सय मिटर उचाइमा पुग्नुपर्ने यात्रीहरूले आपmना लागि खाद्यान्न र सुत्ने कपडा आफैंले व्यवस्था गरेका थिए । पसल र आराम स्थलसहितको 'थर्पु' देखिन थाल्यो । थर्पुको अर्थ स्थानीय भाषामा अस्थायी छाप्रो वा गोठ रहेछ । गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन समितिको स्वीकृतिमा स्थानीयलाई मेला अवधिभरका लागि थर्पु राख्ने अनुमति दिइएको रहेछ । खाउँ हजुर खाउँ, भोकै नहिँडौ, यात्री देख्ने बितिक्कै थर्पुका साहु-साहुनी कराउन थाल्छन्- खाने कुरा सस्तो छ । चना र आलुको तरकारी, मैदाको रोटी, अण्डा र बिस्कुट थर्पुमा राखिएको विशेष परिकार हो । तीन घन्टा जंगलको उकालो चढ्दै देउराली पुग्दा १० भन्दाबढी थर्पु पार गरियो । मेलाभरका लागि ९६ वटा थर्पुको व्यवस्था गरिएको रहेछ । मध्याह्न ४ बजेतिर ३३ सय ५० मिटर उचाइमा रहेको चन्दनबारी पुग्यौं । कोही त्यतै बास खोज्दै थिए । हामी भने चोलाङपाटी बस्ने निधो गरेर उकालो लाग्यौ ।
२५ सय मिटर उचाइमा पुगेपछि 'लेक'बाट जोगिन धेरैले टिमुर र लसुन चपाउन थाले । साँझ ६ बजे चोलाङपाटी पुग्दा यात्रीको भीड लागिसकेको थियो । अरू बेला ३ सय पर्ने होटलका कोठाको दर त्यो दिन भने ५ देखि ७  हजार भनियो । प्लास्टिक र भकारीले बेरेर बनाइएको थर्पुमा भने भात खाएको र सुतेको ३ सय तिर्नुपर्ने रहेछ, हामी थर्पुतिर लागियो । जाडो बढ्दै छ, थर्पु मालिकले एउटा पातलो ब्लाङ्केट दिएका छन् । चिसो भुइँमा पत्कर र सल्लाको पातमा ओछ्याएको पातलो म्याटमाथि लाइन लागेर सुत्नुपर्ने । थर्पुको छानाबाट पानी चुहिरहेको छ । धूवाँले निसासिने अवस्था, भुइँबाट आउने चिसो र ढुंगामाटोमाथिको ओछ्यानमा निदाउने सम्भावना छैन । कठिन रात बिताएर विहानै आ-आफ्नो झोला बोकेर यात्राको सबैभन्दा कठिन लौरीबिना उकालो चढ्न सुरु गर्‍यौं ।
उकालो पार गर्न धेरैलाई कठिन हुने भएकाले बिहानैदेखि घोडा तयार छन् । अक्सिजनको कमी भएपछि अशक्त र लेक लागेर थाकेकाहरू घोडाको सहारा लिन थालेका छन् । बुटा र रूखहरू छोड्दै छौं, नाङ्गा र चट्टान मात्र भएका डाँडा भेटिन थालेका छन् । घामको झूल्कोसँगै उत्तरतिर भने गणेश हिमालको मनै लोभ्याउने आकर्षक दृश्य देखिन थालेको छ । हिमालको फोटो खिच्नेको भीड बढ्दै छ ।  त्यहाँबाट देखिने होंचाअग्ला र थुम्का डाँडा, चौरी गोठ र छहराको आकर्षणले यात्रीको थकाइ मेटाइरहेको छ । उकालो चढ्न कठिन महसुस भएपछि उनीहरू पोको फुकाउँदै सातु, मकै, भटमास, टिमुरको अचार, बिरौला र सुख्ख्ा रोटी चपाउँदै हिँडिरहेका छन् ।  
मध्याह्नतिर झन्डै ४१ सय मिटर उचाइमा पुगेका छौं । मोबाइलबाट गीत बजाउँदै लौरीबिना उकालो पार गर्ने भीड लम्किरहेको छ । घोडाको घाँटीमा झुन्ड्याइएको घन्टीको आवाज चौतर्फी गुन्जिन थालेको छ । 'यो सिजनमा ४० हजार कमाउने लक्ष्य छ,' स्याप्रुबेसीबाट घोडा लिएर आएका १६ वषर्ीय ग्याल्जेन तामाङले भने । उकालो चढ्दै जाँदा घोडामा सवार हुनेको संख्या बढ्दै छ ।
यात्रीलाई देखाउँदै घोडा धपाइरहेका एक बालकले मुख खोले, 'काठमाडौंको मान्छे यस्तै हुन्, हिँड्न सक्दैनन् ।' उनीहरूको बुझाइमा काठमाडौ बस्नका लागि प्रतिकूल ठाउँ हो । ४० नाघेका एक पुरुषले घोडा धपाउँदै भने, 'गर्मी र फोहोर हाम्लाई मन पर्दैन ।' घोडा चढाएर कमाएको ७ हजार रुपैयाँ गए साल चिडियाखाना जाँदा पकेट मारेको घटनाले उनलाई काठमाडौंसँग झन् रिस उठेको छ । यो वर्ष ५० बढी घोडाका लागि सयको हाराहारीमा युवाहरू व्यवस्थापनमा जुटेका छन् । बालबालिकासमेत स्कुल छाडेर घोडा डोर्‍याइरहेका छन् । यात्रीलाई उकालो चढ्न निकै कठिन भइरहेको छ । घोडा मालिक भने उकालोको सरोकार नगरी घोडासँगै तलमाथि दौडन्छन् ।
चोलाङपाटीबाट बुद्ध मन्दिर पुग्न घोडाको भाडा हजारदेखि १५ सय लिँदारहेछन् । कालो चियाको ३० रुपैयाँ । चुचुरोको थर्पु कटेर उकालो र तेर्सो २ घन्टा हिँडेपछि ३ बजेतिर पुगियो गोसाइँकुण्ड । खान बस्न प्रतिव्यक्ति ६ सय । गोसाइँकुण्ड होटलले बनाएको थर्पुमा बस्ने खाने व्यवस्था मिलायौं । समुद्र मन्थनबाट निस्केको कालकुट बिष सेवन गर्दा त्यसको डाहा थाम्न नसकेर भगवान महादेवले गोसाइँकुण्डको पानीमा डुबेको किंवदन्ती छ । उनले चट्टानमा त्रिशूल रोपेर पानी निकालेको र त्यही पानीले बनेको कुण्डलाई गोसाइँकुण्ड भनिएको विश्वास छ । त्रिशूल रोपेको ठाउँलाई 'त्रिशूलधारा' भन्ने चलन छ । जनैपूणिर्माको दिन पूजा गर्दा कुण्डको बीचमा महादेवको रूप देखिने जनविश्वास छ । गोसाइँकुण्ड नजिकै नागकुण्ड र आसपासमा सरस्वतीकुण्ड, सूर्यकुण्डलगायत १ सय ८ कुण्ड रहेको विश्वास छ । गोसाइँकुण्डमा दसैं र जनैपूणिर्मा मेला लाग्छ ।



भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger