भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आगामी साउन ४ गतेको विस्तारित बैठकमा पेश गर्नका लागि ‘नयाँ संगठनात्मक सिद्धान्त’ बनाउन लागेको दाबी एमाओवादी नेताले गरेका छन् । नियमित पत्रकार सम्मेलनमा शनिबार पार्टी प्रवक्ता अग्नि सापकोटाले ‘थ्री इन वान’ को साटो ‘फोर इन वान’ को प्रणाली ल्याउन लागिएको बताउनुभएको छ ।
पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले शायद सही विश्लेषण गर्नुभएको छ । अनलाइनखबरसँगको अन्तरवार्ताका क्रममा उपाध्यक्ष श्रेष्ठले साउन ४ को विस्तारित बैठकले संगठनको तत्कालीन विवाद हल गरे पनि नयाँ संगठनात्मक सिद्धान्त प्रतिपादन गर्न नसक्ने बताउनुभएको छ । नयाँ संगठनात्मक सिद्धान्तको विकासका लागि निकै लामो छलफल र बहस आवश्यक पर्ने र चुनावपछि राष्ट्रिय सम्मेलनमार्फत् त्यसलाई हल गर्न सकिने श्रेष्ठको बुझाइ छ ।
हेटौडा महाधिवेशन असफल साबित, प्रचण्ड स्वयं अलमलमा
विचार कुनै व्यक्तिको दिमागबाट जन्मिन्छ भन्ने ज्ञानको आदर्शवादी सिद्धान्तलाई नमान्ने हो भने प्रचण्डको दिमागमा त्यस्तो कुनै स्पष्ट सिद्धान्त छैन, जसलाई उहाँले साउन ७ गतेको विस्तारित बैठकमा प्रस्तुत गर्नुहोस् र पार्टीभित्रको समस्या जादूको छडी चलाएजसरी समाधान होस् । हेटौडामा पारित राजनीतिक कार्यदिशाअनुरुपको संगठनात्मक सिद्धान्त बनाउन नसकेको प्रचण्डको निश्कर्ष आंशिकरुपमा सही नै भए पनि अर्को सत्य के हो भने उहाँले हेटौडामा प्रस्तुत गर्नुभएको राजनीतिक कार्यदिशा नै अहिलेसम्म अस्पष्ट छ ।
जब कुनै राजनीतिक-वैचारिक कार्यदिशा नै अस्पष्ट हुन्छ, त्यहाँ संगठनात्मक सिद्धान्तले कार्यदिशासँग मेल खाएन भन्नु हास्यास्पद कुरो हो । एमाओवादीबाट पारित हेटौडाको राजनीतिक प्रतिवेदनका अस्पष्टताका मुख्यतः दुईवटा पाटा छन् :
पहिलो, उत्पादन बढाउने भन्ने प्रचण्डको लाइन प्रष्ट हुन नसकेकै कारण पेरिसडाँडा बैठकमा उहाँले ६ पन्ने प्रतिवेदन प्रस्तुत गर्नुपरेको हो । तर, यसमा प्रचण्ड आफैं अल्मलिएको प्रष्टै देखिएको छ । जनसंख्याको पाठ्यक्रममा जस्तै क्लिष्ट चार्टसमेत राखिएको सो प्रतिवेदनमाथि नेताहरुले झनै कडा आलोचना गर्दै स्पष्ट पार्न माग गरेका छन् । हेटौडा महाधिवेशनले गर्न र भन्न खोजेको के हो भन्नेबारेमा नै नेताहरुमा अलमल छ । प्रचण्डभित्रै ठूलो अलमल छ । गर्न खोजेको कार्यदिशा नै अस्पष्ट भैसकेपछि हेडौडा महाधिवेशनको कार्यदिशालाई ‘म्याच’ गर्ने संगठन कसरी बनोस् ? जेसँग म्याच गर्नुपर्ने हो, त्यो नै स्पष्ट नभएपछि कसरी म्याच गर्ने ? संगठनात्मक सिद्धान्त बनाउनुभन्दा पहिले नै नयाँ भनिएको महाधिवेशनको राजनीतिक कार्यदिशा नै प्रष्ट्याउनुपर्ने चुनौती एमाओवादी नेतृत्वका सामु खडा भएको छ ।
दोस्रो, हेटौडा महाधिवेशनमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उठाउनुभएको राष्ट्रिय स्वाधीनताको विचारलाई ६ महिनाभित्र विस्तारित बैठक गरेर टुंगो लगाउने घोषणा गरिएको थियो । यसको अर्थ महाधिवेशनले राजनीतिक कार्यदिशा टुंगो लगाइसकेको भन्ने लाग्दैन । नारायणकाजीले उठाएका केही विषयहरु उत्पादन बढाउने विषयसँग प्रत्यक्षरुपमा जोडिएका छन् । जस्तो कि बिप्पा सम्झौताको विषयले यसमा निकै ठूलो महत्व राख्छ । वैदेशिक लगानी, अझ भारतीय लगानी भित्र्याउने विषयमा स्पष्ट नभई कसरी बढ्छ नेपालमा राष्ट्रिय पुँजी ? अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार दुई शक्तिशाली देशको वीचमा रहेको नेपालमा पुँजीवादको विकास छिमेकीको दलालीबाटै गर्नै सकिन्छ या राष्ट्रिय स्वाधीनताका आधारमा मात्रै गनै सकिन्छ ? यो कुराको किटानी हेटौडा महाधिवेशनले गर्न सकेन र ६ महिनापछि यसलाई हल गर्ने उधारो निर्णय गरियो ।
त्यसैले प्रचण्डले पेरिसडाँडामा निकाल्नुभएको निश्कर्ष यहाँनेर गलत छ कि महाधिवेशनले नै राजनीतिक कार्यदिशा स्पष्ट गरेकै छैन, नयाँ र प्रष्ट राजनीतिक बाटो तय गरेकै छैन अनि उधारोमा महाधिवेशन सकिएको छ । राजनीतिक कार्यदिशा तय गर्ने कुरामै उधारो निर्णय गरिएको छ । संगठनात्मक सिद्धान्त र केन्द्रीय कमिटी बनाउने विषयमा पनि उधारो कारोबार गरिएको छ । समग्रमा हेटौडा महाधिवेशन नै अधुरो, अपूरो र असफल सावित भएको छ । अनि कसरी होस् राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्तको मिलान ?
कस्तो बनाउलान् प्रचण्डले संगठनात्मक सिद्धान्त ?
साउन ४ मा विस्तारित बैठकमा कुनै संगठनात्मक सिद्धान्त पेश हुने स्थिति देखिँदैन । बरु, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भनेजस्तै अल्पकालीनरुपमा संगठनभित्रको विवाद समाधान गरेर चुनावमा जाने निर्णयसम्म हुन सक्ला ।
कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त भनेको लेनिनले विकास गरेको जनवादी केन्द्रीयताको सिद्धान्त हो । जनवादी केन्द्रीयताको सिद्धान्तको अभ्यासमा मात्रै कमजोरी भएको हो या यो सिद्धान्तमै कमजोरी छ भन्नेबारे विश्वका कम्युनिष्टहरुमा बहस हुँदै आएको छ । लेनिनकै समकालीन रोजाले प्रश्न उठाएकी थिइन् ।
एमाओवादीले जनयुद्धकालमा लेनिनवादी संगठनात्मक सिद्धान्तका नाममा स्टालिनको एकमनावादको अभ्यास गर्यो । २० वर्ष महाधिवेशन नगरी चलेको पार्टीले जनवादी केन्द्रीयताको अभ्यास गरेको थियो भन्नु हास्यास्पद कुरा हो । पहिले जनवादी केन्द्रीयताको ठाउँमा नोकरशाही केन्द्रीयताको अभ्यास गरेको एमाओवादी यतिबेला जनवादी केन्द्रीयताको विकल्प खोज्नतिर लागेको छ । हेटौडाको राजनीतिक कार्यदिशालाई कार्यान्वयन गर्ने विषयमा जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तले कुनै बाधा खडा गर्ने देखिँदैन । तर, एमाओवादी नेताहरुले कस्तो हास्यास्पद कुरो गरिरहेका छन् भने हेटौडाको कार्यदिशाअनुसारको सगठनात्मक सिद्धान्त बनाउनुपर्ने भयो ।
स्मरण रहोस् जनवादी केन्द्रीयता युद्धको बेलामा भन्दा, शान्तिपूर्ण विकास अवधिमा राम्रोसँग कार्यान्वयन हुने सिद्धान्त हो । यतिसम्म कि एमाले नेता मदन भण्डारीले बहुलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दा पनि जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तको विकल्प खोजेनन्, उनले यसलाई थप विकसित गर्नेमा जोड दिए । एमाओवादी नेताहरु चाँहि यतिबेला नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्ने भन्दै टाउको दुखाइरहेका छन् ।
माओले पुराना, प्रौढ र युवा पुस्तालाई समावेशी बनाउन कमिटीभित्र ‘थ्री इन वान’ को प्रणालीमा जोड दिएका थिए । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भनेजस्तै यसमा एक थपेर ‘फोर इन वान’ भनियो भने यो अर्को प्रहसनमात्रै हुनेछ । किनभने माओले जनवादी केन्द्रीयताको विकल्पमा ‘थ्री इन वान’ भनेको हैन । माओको थ्यौरी पनि जनवादी केन्द्रीयता नै हो । चीनमा पनि जनजाति, महिला र पिछडिएको समुदायलाई विशेष प्राथमिकता दिने भनिएकै थियो । त्यसैले ‘थ्री इन वान’ को ठाउँमा ‘फोर इन वान’ को सिद्धान्त ल्याइयो भने त्यो मार्क्सवाद लेनिनवाद नबुझ्नेहरुलाई एकछिनका लागि अल्मल्याउने मेलो मात्रै ठहरिनेछ । कमिटीमा आदिवासी जनजातिलाई समावेशी गर्ने विषयलाई ‘फोर इन वान’ भन्ने हो भने दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र आदिलाई महत्व दिने नीतिलाई के भन्ने ? ‘सेभेन इन वान’ संगठनात्मक सिद्धान्त भन्ने ? ‘थ्री इन वान’ नामको यो प्रणाली कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त होइन । प्रणाली र संगठनात्मक सिद्धान्त फरक-फरक विषय हुन् ।
समस्या कहाँ छ एमाओवादीमा ?
एमाओवादीभित्र अहिले देखिएको समस्या संगठनात्मक सिद्धान्तमा नभएर संगठनात्मक व्यवहार र सांस्कृतिक आचरण अनि कम्युनिष्ट मूल्यमान्यतामा चाहिँ छ । जनवादी केन्द्रीयतालाई सही रुपमा आत्मसात र प्रयोग गर्न नसक्नु अनि सर्वहारा नैतिकताको ठाउँमा नवसामन्ती ठिम्बर संस्कृति मौलाउनुकै कारणले पदीय झगडा भएको हो । कम्युनिष्ट आदर्शबाट भएको स्खलनले जन्माएको किचलो मात्रै हो यो । यसमा जनवादी केन्द्रीयताको कुनै दोष छैन । जबसम्म एमाओवादीमा सांस्कृतिक शुद्धीकरण हुँदैन, तबसम्म ‘सेभेन इन वान’ को साटो ‘ह्वान्ड्रेड इन वान’ नै ल्याए पनि यो झगडा साम्य हुनेवाला छैन । एमाओवादीभित्रको झगडा वैचारिक हुँदै होइन, पदीय र असैद्धान्तिक झगडा हो । हेरौं प्रचण्डले कस्तो थ्यौरी अगाडि सार्ने हुन् । समस्याको सही निदान हुन सकेन भने टाउको दुखेको औषधि नाइटोमा दलेजस्तै हुनेछ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.