भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राजधानीलाई मोफसलले सधैं चमकधमक र सम्पन्न सहरको रूपमा मात्रै देख्छ, हेर्छ । तर यहींभित्र आइसकेपछि राजधानीले गरिबी र अभावको पाटोलाई लुकाउन सक्दैन । झन् शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'अन्तराल' ले त राजधानी र यसलाई भोगिरहेकाको समस्या र दुःखलाई देशभर छताछुल्ल पारिदिएको छ । दीपा बस्नेत निर्देशित फिल्मले जीवनको धेरै नजिक पुगेर यसका पत्रपत्र केलाउने प्रयास गरेको छ । उनी पहिलो कदममै सफल देखिएकी छन् । 'काठमाडौं आउन नि काम हुनुपर्छ ? क्यापिटल सिटी हेर्न आइदेको नि,' भर्खरै काठमाडौं छिरेको एक पात्रको यही मनोभावले दर्साउँछ, राजधानीको ग्ल्यामर । तर अंकलको घरमा बसेर अंग्रेजी प्रोफेसर बन्ने सपनासहित जेनतेन पढिरहेको लोकेन्द्र (लेखक) उर्फ भतिजका लागि भने यहाँको जीवन अति संघर्षपूर्ण लाग्छ । अंकलको अनावश्यक कचकचले भतिजलाई कमलीकान्तको रुम पार्टनर बनाउन बाध्य पार्छ । भविष्यको पत्रकार बन्न लागिपरेको कमली (कमलमणि) घाँटीमा क्यामेरा झुन्ड्याएर हिँड्न बिर्संदैन । घरबेटीकी छोरीसँग आँखा जुध्न थालेपछि भने अभावले किचिएको मुहारमा खुसीका रेखा देखिन थाल्छ । गायक बन्ने सपना सार्थक पार्न गितार बजाउँदै हिँड्ने रिदम (मानव) आमा-बाबुसँगै छ र पनि खुसी छैन । अभाव नभए पनि उसको इच्छा नबुझ्ने बाबुका कारण घर छोडेर सँगैका साथीहरु कमली र भतिजसँगै एउटै कोठामा गुजारा गर्न थाल्छ । सौतेलो बाबुले गितार बजाएर पेट नपालिने टिप्पणी गर्दै बिजनेसका लागि दबाब दिएपछि घरै छोडिदिन्छ । उता, कमाउन परदेसिएको घनु (घनुभाइ) दलालको फन्दामा परेर पैसा डुबाएर रित्तो हात फर्केपछि राजधानीमै अडकन्छ । गाउँमा मुख देखाउन नसक्ने भएपछि घनु पनि साथी भतिजकै शरणमा पुग्छ । राजधानीमा कोठा पाउनु कति समस्या छ भन्ने विद्यार्थीलाई जति कमैलाई थाहा होला । कोठाबारे बुझ्न चोरले झैं दुनियाँका घरका गेटबाट चियाउनु, बिहे नगरेको भए कोठै नपाइनु, स्टोभ बाल्न नपाउनु, पानीको समस्या खेप्नुपर्ने साझा समस्या हुन् । अभिमन्यु निरबीले पटकथालाई राजधानीमा बग्रेल्ती भेटिने यस्ता चरित्रमध्येबाटै टिपेर सजीव बनाएका छन् । फिल्मले धेरै ठूला कुरा गर्दैन तर सानातिना विषयबाट पनि मेट्रो सिटीको नियत राम्रोसँग झल्काएको छ । १५ रुपैयाँको कुहिएको फर्सीले कालो बजारीलाई झल्काउँछ भने क्यासेट बिक्री गरेर पैसा झ्वाम गर्ने म्युजिक कम्पनी मालिकले समग्र संगीत क्षेत्रको विकृतिलाई एक झलकमै समेट्छ । वैदेशिक रोजगारीको नाममा दिनदहाडै मानव तस्करी गर्ने कम्पनीविरुद्ध आवाज उठाउन खोज्दा उल्टै चुटिनुपर्ने निरीह पात्र पनि फिल्मले नै समेटिदिएको छ । देशमा दण्डहीनताको पराकाष्ठा बढिरहेको बेलामा आएको फिल्म धेरै कोणबाट समयसापेक्ष देखिन्छ । फिल्ममा डार्क कमेडीको अत्यधिक प्रयोग गरिएको छ । पात्रहरु तनावमा हुन्छन् र पनि दर्शक हाँसो रोक्न सक्दैनन् । फिल्मको सबल पक्ष यसमा देखिएको टिम-वर्क हो । धेरै पात्रको भीडमा पनि फिल्मको रिदम खुस्केको छैन । कुनै पात्र र तीनका कथा अर्कोमाथि हाबी लाग्दैन । सबैका समस्या आ-आफ्ना ठाउँमा उत्तिकै ठूला छन् । पटकथाले सबै पात्रलाई समान न्याय गर्न सक्नुले पनि फिल्म साधारण तर उत्कृष्ट बनेको छ । टिम-वर्कको छनक अभिनयमा पनि झल्कन्छ । अभिनय र चुस्त संवादका कारण पनि 'अन्तराल' को उचाइ चुलिएको छ । फिल्ममा 'बास्टर्ड' शब्दमै आफ्नो संवाद पूरा गर्ने अशोक (राजकुमार) दर्शकका लागि चटनी लाग्छन् । अरूलाई पिटिहाल्ने, धम्काइहाल्ने र डरलाग्दो गरी आँखा पल्टाउने ऊ प्रेमिकाका अघि भने लुत्रुक्क पर्छ । फिल्मका लागि उनी 'आइटम क्यारेक्टर' हुन् । फिल्म 'वर्तमान बेकार' भएका चरित्रकै कथाका कारण निरस मात्रै पनि छैन । छोटा प्रेमसम्बन्धले पनि मिठो आभास दिन सक्षम देखिएका छन् । विदेशमा बसेकी पूजा (नम्रता) सँग प्रेम गर्ने रिदम अनि घरबेटीकी छोरी मनिला (अशिष्मा) सँग मन साट्ने कमलीकान्तका मनोभावले दर्शकमा गजबको प्रेम अनुभूत गराउँछ । क्यामेरा खिचाइदेखि संगीतको पक्षमा पनि 'अन्तराल' ले सम्झौता गरेको लाग्दैन । पाश्र्व संगीत मुडअनुसार मेल खाएको छ । मूलधारे प्रवृत्तिबाट टाढा रहेर आफ्नै मौलिक बाटोमा शान्तसँग हिँडेको 'अन्तराल' ले दर्शकलाई आनन्ददायी मनोरञ्जन दिन्छ । तर हरेक फिल्ममा क्लाइमेक्स कुरेर बस्ने दर्शकको स्वादे जिब्रोलाई भने फिल्मले खल्लो पार्न सक्छ । नाटकीयतामा भन्दा सरलतामा रुचि भएकाका हकमा भने 'अन्तराल' हेर्नुपर्ने फिल्मको सूचीमा पर्नेछ । फिल्म समीक्षा अन्तराल निर्देशक : दीपा बस्नेत कलाकार : कमलमणि नेपाल, राजकुमार पुडासैनी, मानव सुवेदी, लोकेन्द्र लेखक, घनुभाइ जोशी, नम्रता सापकोटा, अशिष्मा नकर्मी
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.