भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाल आमा भन्छन्, नेपाल बा भन्दैनन् । कसैले कुटेर या चिप्लेर लड्यो भने मरें आमा भन्छन्, मरें बा कमैले मात्र भन्छन् । आमा जननी हुन्, आमा मुटु हुन्, आमा प्राण हुन्, आमा सबथोक हुन् भनेर गीत, कविता र साहित्य कोर्छन् । बा को नाममा केही भन्दैनन् ।आमाकै लागि चाडपर्व र तिथिमिति पनि कति छन् कति । तीजमा तिनै आमा गीत गाउछिन्, नाच्छिन् । महिला दिवस आमालाई नै लाग्छ । अहिले मातातीर्थ औंसी पनि आमाकै नाममा छ । आमाको मुख हेर्ने दिन । आमालाई सम्झने र सम्मान गर्ने दिन । पराई घर गएकी चेली पनि मीठामीठा खानेकुरा खुवाउन भन्दै मातातीर्थ औंसीमा माइत जान्छिन् । गुलियो खान नहुने रोगी आमालाई मिठाई खुवाउछिन् र आमाको दीर्घायूको कामना गर्छिन । घरमै रहने अरु छोराछोरीले पनि त्यो दिन चाहि आमालाई गाली नगरेको जस्तो गर्छन् । अरु दिन वास्ता नगरेपनि लोकलाज ढाक्न यसो मुख हेरे झैं टोपल्छन् । आमा नहुनेहरुको त मातातीर्थ कुण्डमा ठूलो जुलुस नै हुन्छ । जिउदो छदासम्म आमालाई रुवाउनेहरु मरेपछि भने खुवाउनभन्दै मातातीर्थमा पुग्छन् र पानीमा खानेकुरा फालेर आमाको मुख हेरेको भन्छन् ।जे जसरी भए पनि आमालाई सम्झने र माया गर्ने दिन छ । बालाई सम्झने दिन खै त ? यसो झारा टार्ने हिसाबले कुसे औंसीलाई बाबुको मुख हेर्ने दिन भनि टोपल्छन् । तर कुस उखल्न, बाड्न, बोक्न र थन्क्याउन व्यस्त हुनुपर्ने बेला बाबुको मुखतिर र्फकन कसलाई फुर्सद होओस् । आमालाई खुशी पार्ने खुसे औंसीमा जस्तो पछिको कुसे औंसीमा बाबुको मुख हेर्न भनेर कुनै चेली माइत जादैनन् । घरमै भएको चेलोले पनि सधैं देखिरहने बाबुको मुख कुसे औंसीमा खास कोणबाट हेर्नुपर्ने मेसो पाउदैन । हिसाब गरेर हेर्दा तिथिमिति र दिवसले बालाई भन्दा आमालाई बढी ठूलो बनाएको छ । तर घरव्यवहार, खटनपटन, रितिथीति र चालचलनले चाहि बाबु नै ठूलो छन् । नेपाल आमा भनेपनि शासन सत्ता सधैं बाउले मात्र धानेका छन् । मैला ठाउमा बसेर महिला हकहितको कुरा गरेपनि दलको माउ नेता बाउ नै छन् । हुन त माउ भनेर आमालाई बुझिन्छ । तर नेता भएपछि पुरुष पनि सुत्केरी हुने चलन भएकाले होला बाउहरु आफूलाई नै माउ भनेर ढलिमली गर्छन् ।एकातिर तुलो खसाल्दा आमा ठूलो । अर्कोतिर तुलो उचाल्दा बाउ ठूलो । तैपनि छोराछोरीलाई बाउआमालाई गर्ने व्यवहार चाहि झण्डै उस्तै उस्तै हुन्छ । जन्म दिन बाउआमा दुवैको भूमिका उत्तिकै भएपनि हुर्काउने-बढाउने आमाले गर्छिन् । पढाउने र उसलाई सिंढी चढाउनमा बाउ बढी अघि सर्छन् । खुट्टा नटेक्दासम्म छोराछोरी आमाको काखमा लुटपुटिन्छन् । आमाको मासु लुस्छन् । रस चुस्छन् । कुल्चिन्छन्, पेल्छन् । तिनै आमाको काखमा हग्छन्, मुत्छन्, थुक्छन् । साना छोराछोरीको यी सबै हर्कत ति आमाको लागि स्वर्ग समान हुन्छ । आमाको काखबाट ओर्लेपछि तिनै छोराछोरी बाबुको टाउकोमा गिर खेल्छन् र आमालाई पिर पार्छन् । यताउताका कुरा जान्नेबुझ्ने भएपछि उनीहरुलाई लाग्छ-आफू त आकाशबाट खसेको हो, न आमाले पाइन्, न हुर्काइन । न घरका अरुले बढाए, न बाबुले पढाए । आफ्ना आमाबाबुको भन्दा उनीहरु अरुका छोराछोरीको बढी ख्याल गर्छन् । अर्थात छोरो छ भने अर्काकी छोरी ताक्छ । छोरी छ भने अर्काको छोरो ताक्छे । अनि ख्यालख्यालमै उनीहरु पनि बाबुआमा हुन्छन् र यही नियति भोग्छन् । अनि बा र आमा को ठूलो भनेर तुलो उचाल्न नपाउदै उनीहरुलाई पनि छोराछोरीले उचालेर चुलोबाट सार्छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.