Widgets

Home » » 'संविधान पहिले, त्यसपछि स्थानीय निर्वाचन'

'संविधान पहिले, त्यसपछि स्थानीय निर्वाचन'

Written By sangalo on Saturday, March 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

puspakamal dahal

संविधानसभाको दोस्रो निर्वाचन परिणामपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सञ्चारमाध्यममा खासै देखिएनन् । पार्टीको अनपेक्षित हारपछि आन्तरिक समीक्षा गर्दै संगठन निर्माणका लागेका उनले आगामी राष्ट्रिय सम्मेलनबाट नीति र नेतृत्वबारे ठोस निर्णय लिइने जनाए । सहकर्मी नेता बाबुराम भट्टराईले नेतृत्व हस्तान्तरणको कुरा उठाइरहेका बेला उनले 'लडाइँ हारेका बेला कमान्डरले मोर्चा छाडेर भाग्न नमिल्ने' टिप्पणी गरे । नेकपा-माओवादीसँग एकता प्रयासमा लागेका उनले अब आफ्नो सामथ्र्य नयाँ संविधान निर्माणमा लगाउने जानकारी दिए, तर बहुमतका आधारमा संविधान थोपर्न खोजिए त्यो मान्य नहुने बताए । प्रस्तुत छ, दाहालले शनिबार आफ्नै निवास लाजिम्पाटमा कान्तिपुरका सुधीर शर्मा र गंगा बीसीसँग लामो मौनता तोड्दै दिएको अन्तर्वार्ताको सम्पादित अंश: संविधानसभा निर्वाचनको परिणामपछि लामो समय तपाईं मौन देखिनुभयो नि ? निर्वाचनको परिणामकै कारण मौन बसेको भन्ने कुरा त्यति सत्य होइन । हामीले त्यो परिणामको आन्तरिक समीक्षा गर्ने कुरामा बढी समय खर्चियौं । केन्द्रीय समिति, जिल्ला, राज्य समिति बैठकमा धेरै समय गएको पक्कै हो । निर्वाचन परिणाम एकखालको आइसकेको स्थितिमा आफ्नो संगठन सुदृढ नगरी बाहिर बोल्नु त्यति उचित हुँदैन भन्ने लाग्यो । समीक्षा गर्दा पराजयको मूल कारण के पाउनुभयो त ? समीक्षाका क्रममा पराजयका आन्तरिक र बाह्य कारणहरू देखिए । आन्तरिक कारणमा पार्टी विभाजन, तलको संगठन अस्तव्यस्त हुनु, कार्यकर्ता व्यवस्थापन नहुनु आदि थिए । निर्वाचनमा पराजयको मुख्य कारण आन्तरिक नै हो साथसाथै बाह्य कारण पनि छन् । निर्वाचन आफैं पनि स्वच्छ र प्रतिस्पर्धात्मक भएन । जे भए पनि आन्तरिक कमजोरीमा टेकेर बाह्य षड्यन्त्रहरू भए । अर्को कारण, हाम्रो आफ्नो वर्गसँगको सम्बन्ध कमजोर हुँदै गयो, विपक्षी वर्गसँग सम्बन्ध बढी भयो । त्यस्तै राष्ट्रिय स्वाधीनताका विषयमा पनि राजनीतिकभन्दा बढी कूटनीतिक प्रयासमा जोड दिनु ठीक भएन । एमाओवादीले संघीयताका विषयमा एकल जातीय पहिचानको मुद्दा लिनु पनि पराजयको कारण होइन ? हामीले एकल जातीय पहिचानको कुरा कहिल्यै गरेका छैनौं । हामीले मुख्यतः पीडित वर्ग, जाति र क्षेत्रको पहिचान आवश्यक छ भनेको हो । हेटौंडा महाधिवेशनदेखि पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भनेर जे नारा दिएका थियौं, त्यो बिल्कुल सही छ । तर, संघीयतालाई ठीक ढंगले बुझाउने काममा कमजोरी भयो । यथास्थितिवादी र प्रतिक्रियावादीले माओवादीले एकल जातीय बनाउन खोजेको, जातीय विभाजन गराउन खोजेको भनेर प्रचार गरे । हामीले कसैको अधिकार खोस्न खोजेको होइन, बरु सबैलाई अधिकार दिन खोजेको हो । पार्टीका नेताको नैतिक आचरण र भ्रष्टाचारबारे विश्लेषण भएको छैन ? नेताहरूको जीवनचर्या, आर्थिक क्रियाकलाप, सांस्कृतिक विचलन आदिबारे पनि छलफल भएको छ । तर, जुन स्तरको आरोप लगाइएको छ, त्यो स्तरको छैन । आम कार्यकर्ता र जिल्ला/केन्द्रका नेता कार्यकर्ताबीच वर्गीय अन्तर देखापरेको चाहिं छ । एउटा सानो वर्गको उत्थान हुने, अर्को वर्ग तल खस्कँदै जाने स्थिति भयो । अहिले सबै जनता, श्रम र उत्पादनतिर र्फकने निर्णय गर्‍यौं । केही नेताका हकमा केही आरोप आए, त्यसको विस्तृत छानबिन पनि गर्‍यौं, अमिक शेरचनको नेतृत्वमा आयोग नै बन्यो । केन्द्रीय समितिका एकजना नेतालाई अपारदर्शी सम्पत्ति थुपारेको देखिएपछि कारबाही गर्‍यांै । मेराबारेमा पनि प्रश्न उठे, मैले त मेरामा नै केन्दि्रत भएर छानबिन गर्न भनेको थिएँ । मेरोबारे अनर्गल आरोप लगाइएको पुष्टि भयो । (लडाकु) शिविरको सबै हिसाबकिताब उतै छ, मसँग छैन । यो घर पाँच वर्षका लागि भाडामा लिएको सबै प्रमाण थियो । तर, ठूला व्यापारिक घरानासँग तपाइर्ंको साझेदारीको कुरासमेत आएको छ नि ? यो बिल्कुल निराधार, कपोलकल्पित, बदनाम गर्ने षड्यन्त्र हो । बानेश्वरको मुक्ति टावरको कुरामा मेरा बुबाका नामबाट राखिएको भन्ने पनि सुनियो । जब कि त्यो मुक्तिनाथको नामबाट रहेछ । मेरो कुनै व्यापारिक घरानासँग सेयर, 'बिजिनेस' भन्ने कहींकतै केही छैन । म प्रधानमन्त्री भएका बेला कतिपय काम गर्ने सम्बन्धमा विभिन्न व्यवासायीसँग सम्बन्ध भए । यो स्वाभाविक पनि हो । त्योभन्दा अपारदर्शी ढंगको अर्को केही छ भन्ने होइन । व्यापारी अजेय सुमार्गीसँग तपाईंको विशेष सम्बन्ध रहेको कुराचाहिं के हो ? मैले अजेय सुमार्गीलाई शान्ति प्रक्रियामा आइसकेपछि चिनेको हो । कतिपय साथीले 'उनी राम्रा व्यवसायी हुन्, रुपचन्द्र बिष्टको समूहमा लागेर जेलनेल खाएका हुन्' भनेर परिचय गराएकाले सहानुभूति भएकै हो । उहाँले गर्ने काममा सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि गरेको हो । मेरो त्यत्तिकै सम्बन्ध सुरज वैद्यसँग, त्यत्तिकै सम्बन्ध विनोद चौधरीसँग र अरू थुप्रै व्यापारी- व्यवसायीहरूसँग पनि हुने नै भयो । त्योभन्दा बढी विशेष (सम्बन्ध) छैन । संविधानसभा निर्वाचनपछि बाबुराम भट्टराईले मूल नेतृत्व असफल भएको भन्नुभएको छ । तपाईं आफ्नो ठाउँबाट कमजोरी भएको ठान्नुहुन्न ? मैले पार्टी अध्यक्ष हुनुको नाताले निर्वाचन परिणामको जिम्मेवारी लिनुपर्छ र लिन्छु भनेर केन्द्रीय समिति बैठकमै कुरा राखें । तर कम्युनिस्ट पार्टीभित्र एउटा पराजय हुनबित्तिकै सबै सिद्धियो भनेर सोच्नु माक्र्सवादी तरिका होइन । यो एउटा राजनीतिक लडाइँ थियो, पार्टीले त्यसमा हारेको हो, त्यसको नैतिक जिम्मेवारी कमान्डरले लिनुपर्छ । तर एउटा लडाइँ हार्नुको अर्थ पूरै युद्ध हारेको होइन । यसबाट शिक्षा लिंदै अर्को राजनीतिक लडाइँ जित्ने तयारी गर्नु परिपक्व कमान्डर, नेताको जिम्मेवारी हुन्छ । जहाँसम्म बाबुरामजीले यो प्रक्रियामा अध्यक्ष असफल भएको, मुख्य कमजोरी गरेको भन्नुभयो भन्ने कुरा छ, त्यो कुनै पनि दृष्टिबाट मिल्दैन । बाबुरामजी र म यति धेरै सँगै छांै कि हामीले सबै कुरा शतप्रतिशत सहमतिबाट गरेका छांै । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँका कैयौं सुझावलाई मानेको छु । त्यसैले (उहाँले) अध्यक्ष असफल भए या म भए सफल हुन्थें भन्ठान्नुभन्दा दुःखद, मनोगत र गलत कुरा केही हुन्छ जस्तो लाग्दैन । मेराअगाडि उहाँले त्यो कुरा कहिल्यै भन्नुभएको छैन । सञ्चारमाध्यममा आउँछ त्यो कुरा । उहाँले अध्यक्षलाई अलग्याएर आफ्नो कमजोरी छैन भन्नुभयो भने बाबुरामजीजस्तो वरिष्ठ नेताले त्यसो भन्नु उहाँका लागि फाइदाजनक छैन, घाटा पुर्‍याउँछ भन्ने मलाई चिन्ता छ । किनभने म अध्यक्ष भएको हुनाले प्रमुख जिम्मेवारी लिन्छु, सँगसँगै म पनि अध्यक्षसँगै जोडिएको छु भन्नैपर्छ । बाबुरामजीले 'अब नयाँ राजनीतिक शक्ति आवश्यक छ’ पनि भन्नुभएको छ नि ? उहाँले भनेको धेरै कुरामा अहिले म टिप्पणी गर्न चाहन्नँ, भोलि बैठकमा छलफल गर्दै छौं । अध्यक्षले टालटुले कुरा गरिरहेको भन्ने उहाँको आरोपबारे चाहिं के भन्नुहुन्छ ? अध्यक्षले टालटुले गरे भन्नु बिल्कुल गलत हो । १६ दिन केन्द्रीय समिति बैठक भएको छ, मैले निर्मम ढंगले समीक्षा गरेको छु । देशभरि पार्टी पुनः निर्माणमा लागेको छ । यति गर्दा पनि टालटुले कुरा गर्नुभएको हो भने त्यो बिल्कुल निराधार हो । आफ्नो शक्ति सुदृढ नगरी, परिवर्तनको प्रक्रियालाई वैज्ञानिक दृृृष्टिकोणले निर्देशित नगरी नयाँ शक्तिको अमूर्त कुरा गरेर समस्या समाधान हुँदैन । वैचारिक, राजनीतिक र सांगठनिक ढंगले थप विकास गर्नुपर्छ । केन्द्रीय समितिले राष्ट्रिय सम्मेलन गर्नुपर्छ भन्ने कुरा एक मतले भनेको छ । अब अहिले आएर उहाँ -बाबुराम भट्टराई) ले आफ्नो ढंगले जो भन्न खोज्नुभएको छ, मैले नै बुझेको छैन- उहाँले के भन्न खोज्नुभएको हो । कतिपय भन्ने नहुने कुरा पनि भन्नुभएको छ । नवउदारवादबारे नयाँ कुरा ल्याउन खोजेजस्तो, उहाँ निर्वाचन परिणामपछि अलि बढी नै चिन्तित हुनुभएको छ । संगठन सुदृढ गरेर पार्टी पुनः निर्माण गर्नुको सट्टा अरू केही खोज्छु भनेर धेरै चिन्तित हुनुभयो । सायद यति धेरै चिन्तित हुनुपर्ने अवस्था छैन । तपाईंहरूले निर्वाचनमा अनियमितता भएको दाबी गर्नुभयो, तर पुष्टि त गर्न सक्नुभएन नि ? निर्वाचनमा अनियमितता भएको कुरा कांग्रेस, एमाले र मधेसवादी दलले सिद्धान्ततः स्वीकार गरिसकेका छन् । त्यही भएर त्यसको छानबिन संसद्बाट उच्च स्तरीय समिति बनाएर गर्ने कुरा राजनीतिक सम्झौतामा आएको हो । अब हामी संसद्मा छानबिन समिति बनाउने कुरा उठाउँछौं । छानबिन भएर -हालको संविधानसभा) भंग हुन्छ भन्ने त विश्वास छैन । तर, गल्ती गर्नेलाई केही न केही कारबाही हुने र आगामी निर्वाचन यस्तो नहोस् भन्ने ग्यारेन्टी गर्ने विश्वास छ । तपाईंहरूले राष्ट्रिय सम्मेलन गर्दै हुनुहुन्छ, त्यहाँबाट के गर्न खोज्नुभएको ? हाम्रो पार्टीमा माथितिर मात्र आउन खोज्ने नेता तथा कार्यकर्ता भए । जिल्लाको राज्य समितिमा आउन खोज्ने, राज्य समिति केन्द्र, केन्द्रका अझै माथि जान खोज्ने धेरै भए । यो राष्ट्रिय सम्मेलनबाट नेता, कार्यकर्तालाई जनतातिर फर्काउने भन्ने हो । त्यसका निम्ति केन्द्रीय, राज्य र जिल्ला समिति सबै भंग गरेर अगाडि बढ्न खोजिएको हो । केन्द्रीय समितिलाई भने राष्ट्रिय सम्मेलनसम्म यथावत् राखिएको छ । माथितिर पद प्रतिष्ठा लिन खोज्ने प्रवृत्तिलाई जनतातिर फर्काउने नै राष्ट्रिय सम्मेलनको चुरो कुरा हो । यसले पार्टीलाई जनतासँग जोड्छ । अब जनता र कार्यकर्ताको समर्थन नलिई नेता बन्न नसक्ने व्यवस्था गरेका छांै । अब पनि तलका कार्यकर्ताको मन नजिती अध्यक्ष बन्न नसक्ने अवस्था छ । यसबाट जसलाई जनता, कार्यकर्तको विश्वास छैन, ती साथीहरू आत्तिएका छन् । कार्यकर्तको मन जित्न नसक्नेले बखेडा झिक्न सक्छन् । अब कसले बखेडा झिक्दै छ भनेर जनताले देख्नेछन् । पार्टी बनाअौं, सबै उत्पीडिततिर जोडिऔं भनेर एकमतले निर्णय गर्ने, अनि कार्यकर्ताले मलाई मान्दैनन् भनेर बखेडा झिके सबैले चिन्छन् । यसबाट इमानदार साथीहरू सबै खुसी भएका छन् । तपाईंहरू फेरि मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीसँग एकता गर्न खोज्दै हुनुहुन्छ । किन यस्तो निर्णयमा पुग्नुभयो ? पार्टी विभाजन गलत थियो, यसले पार्टी र राष्ट्रलाई समेत क्षति भयो भन्ने मलाई र वैद्यजीलाई पनि महसुस भएको छ । हामीलाई 'वैद्यजी गए पनि चुनाव जितिहाल्छांै, पहिलो पार्टी भइहाल्छौं र सरकारको नेतृत्व गरिहाल्छौं' भन्ने लागेको थियो, त्यो कुरा सही साबित भएन । वैद्यजीहरू पनि एकीकृत माओवादीका कारण विद्रोह नभएको हो भनेर फुटेपछि विद्रोह गरिहाल्छौं भन्नेमा लाग्नुभएको थियो, त्यो पनि भएन । साझा जमिन तयार भयो, जसले दुवैलाई आत्मसमीक्षा गर्न प्रेरित गरेको छ । एकताको सुरुवात बिन्दु यही हो । हामीले पार्टीमा वर्गीय ह्रास आयो, यसलाई सच्याउनुपर्छ भन्ने निर्णय लियौं । अर्को, राष्ट्रिय स्वाधीनताप्रति जनतालाई जसरी प्रशिक्षित गर्नुपथ्र्यो, त्यहाँ कमी भयो भन्ने केन्द्रीय समितिको निष्कर्ष हो । वैद्यजीहरूका लागि यो सकारात्मक कुरा हो । निर्वाचनपछि राष्ट्रिय स्वाधीनताको विषय र वर्ग दृष्टिकोणमा विचलन भयो भनेर स्वीकार गर्नु इमानदार साथीका लागि खुसीको कुरा हो । त्यसले पनि एकताको आधार तयार पार्‍यो । अर्को, उहाँहरू जनयुद्धमा सँगै लडेको नाताले अहिले सत्य निरूपण, बेपत्ता आयोग बनाउने काम यति वर्षसम्म हुन सकेको छैन, बरु युद्धकालका मुद्दा ब्युँताउन थालिएको छ । नेता, कार्यकर्ताको धरपकड गर्ने काम हुन थालेको छ । यो हाम्रो साझा विषय हो । माओवादी कमजोर भयो भनेर शान्ति सम्झौतालाई तोड्न खोजिएको छ । अब जे गरे पनि हुन्छ, शान्ति सम्झौताअनुसार आयोग नबनाए पनि हुन्छ, बेपत्ताको खोजी नगरे पनि हुन्छ भन्ने ठानिएको हो भने हाम्रा लागि त्यो 'जीवन र मृत्यु' को कुरा हुन्छ । हामी सत्य निरूपण आयोग बन्छ, बेपत्ता छानबिन हुन्छ, अनि वर्गीय, जातीय, लैंगिक समस्या सम्बोधन भएको संविधान आउँछ भनेर आएको हो । निर्वाचन परिणामपछि यथास्थितिवादी शक्तिको जे-जस्तो गतिविधि देखिँदै छ, त्यसले हामीलाई सँगै आउन बाध्य बनाएको छ । हामीलाई पार्टी एक हुन सहिद, बेपत्ता परिवार, नेता कार्यकर्ताको दबाब पनि उत्तिकै छ । पार्टी एकताका लागि तपाईंले हेटौंडा महाधिवेशनबाट लिएको पँुजीवादी-जनवादी क्रान्तिको कार्यदिशा परिमार्जन हुने सम्भावना छ ? त्यो कार्यदिशा परिमार्जन गर्नुपर्छ भनेर केन्द्रीय समिति बैठकले निर्णय गरिसकेको छ र आउँदो राष्ट्रिय सम्मेलनमा त्यो लाइन परिमार्जन गर्नेछौं । आधारभूत रूपमा त्यो लाइन ठीक छ तर विकसित गर्न आवश्यक छ । तत्काल जनयुद्ध र विद्रोह सम्भव छैन । अहिले संविधान निर्माणको अन्तरवस्तुमा सहमति गरेर छिटोभन्दा छिटो संघीय संविधान बनाउनुपर्छ र त्यहाँ टेकेर अगाडि जानुपर्छ भन्ने लाइनमा सहमति हुने सम्भावना छ । प्रधानमन्त्री सुशील कोइरालाले पनि बोल्नुभएको छ, गोलमेच सम्मेलन गरेर भए पनि वैद्यजीलाई ल्याउनुपर्छ । संविधानसभाले नै गोलमेच गर्ने कुरामा पनि पार्टीबीच छलफल हुँदै छ । वर्गीय, जातीय, क्षेत्रीयलगायत राज्य पुनः संरचनासहित नयाँ संविधान बनाउने कुरामा वैद्यजी र हाम्रो त्यति मतभेद हुँदैन । जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्नेेे र समाजवादी रणनीतिको तयारी गर्ने कुरामा पनि सैद्धान्तिक रूपमा त्यति मतभेद हँुदैन । जनवादी क्रान्ति भनेकै समाजवादी क्रान्तिको तयारी हो । पहिले हामी संविधानको अन्तरवस्तुमा सहमति गरेर संविधान बनाउने कुरामा एक हुन्छौं अनि जनवादी क्रान्ति र समाजवादी क्रान्तिको अन्तरवस्तुमा छलफल गरेर कार्यदिशालाई पनि एक ठाउँमा ल्याउन सक्छौं । दुई माओवादी कहिलेसम्म एक होलान् ? मिति तोकिएको छैन, हामीबीच सकारात्मक ढंगले छलफल भइरहेको छ । अर्को प्रसंग, स्थानीय निकायको निर्वाचन आवश्यक भइरहेका बेला तपाइर्ंहरू यसको विरोधमा उत्रिनुको कारण के हो ? हामीले स्थानीय निर्वाचनको विरोध गरेको होइन । यो जरुरी छ । तर, चारबुँदे सहमतिमा छ महिनाभित्र संविधानको मस्यौदा बनाउने सहमति भएको थियो । छ महिनामा मस्यौदा जनतालाई दिने प्रतिबद्धता हो भने अहिले नै स्थानीय निर्वाचन गर्नेतिर लाग्दा त्यो प्रतिबद्धता पूरा हुँदैन । कांग्रेस, एमाले संविधान बनाउन केन्दि्रत हुने कि स्थानीय निर्वाचन गर्ने ? यसमा विरोधाभास छ । स्थानीय निर्वाचनमा आम जनताको बढी सरोकार हुन्छ नै । यसले केही समय खान्छ, पार्टीहरूबीच तिक्तता हुन सक्छ । त्यसले संविधान निर्माणमा सहमति बनाउन कठिन हुन्छ । जनप्रतिनिधिबिना १६ वर्ष बितिसकेको छ भने अर्को ६-८ महिना बित्दा के फरक पर्छ ? संविधान पहिले बनाऔं, त्यसपछि स्थानीय निर्वाचनमा जाअौं भनेको हो । त्यस्तै अन्तरिम संविधानले स्थानीय निर्वाचनको परिकल्पना गरेको छैन । यो निर्वाचन गर्न अन्तरिम संविधान संशोधन गर्नुपर्ने हुन्छ । अहिले एक थरीलाई यथास्थितिवादी शक्ति संघीय संविधान बनाउन इमानदार छैनन् भन्ने लागेको छ । अर्को पक्षलाई संघीय संविधान बन्यो भने स्थानीय निकायको निर्वाचन गर्न झन् गाह्रो हुन्छ भन्ने शंका छ । यस्तो शंकै-शंका भएका बेला हाम्रो प्राथमिकता संविधान निर्माणमै हुनुपर्छ । स्थानीय निर्वाचन पहिले गरेर संविधान पछि जारी गर्ने सहमति हुने सम्भावना छैन ? त्यो सम्भावना छैन । हाम्रो प्राथमिकता संविधान नै हो । मस्यौदा दिइसकेपछि छिट्टै स्थानीय निर्वाचनमा सहमति हुन सक्छ । दलहरूको प्रतिबद्धताअनुरूप एक वर्षभित्र संविधान जारी हुन सक्छ ? संविधानसभामा सहमति हुने सम्भावना म देख्छु । अब पनि संविधान बनेन भने देशले दुःख पाउँछ भन्ने सबैलाई महसुस भएको छ । संविधान बन्छ जस्तो लाग्छ । केही विषयमा छलफल हुँदै जान्छ । संघीयता र शासकीय स्वरूपमा सहमति हुनैपर्छ । कांग्रेस, एमाले प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा सहमत भएकै हुन् । म विवाद समाधान उपसमितिको अध्यक्ष हुँदा कांग्रेसले पहिले कति संघीय राज्य हुने तय गरौं अनि प्रत्यक्ष राष्ट्रपतिमा जाअौं भनेकै हो । प्रदेशको कुरामा (२०६९) जेठ २ को सहमति (जसमा ११ प्रदेश बनाउने प्रस्ताव थियो) मा एक-दुईवटा घटबढ गरेर भए पनि सहमति हुने सम्भावना छ । संविधान सहमतिकै आधारमा लेखिन्छ जस्तो लाग्छ ? कस्तो संविधान बनाउने भन्ने कुरा १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा पनि उल्लेख गरिएको छ । १२ बुँदे सम्झदारीमा अग्रगामी संविधान र संविधानसभाबाट संविधान बनाउने उल्लेख गरिएको छ । अन्तरिम संविधानमा वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय अधिकारसहितको अग्रगामी संविधान बनाउने भनिएको छ । विस्तृत शान्ति सम्झौतामा पनि त्यो भनिएको छ । अहिले हाम्रो बढी सिट आएको भए पनि जनवादी संविधान बनाउन सक्दैनथ्यौं । त्यो १२ बँुदे, शान्ति सम्झौता र अन्तरिम संविधानभन्दा बाहिरको कुरा हुन्थ्यो । हामी पनि कांग्रेस, एमालेका केही नेताले भनेजस्तो ०४७ सालको संविधानमा गणतन्त्र शब्द राख्ने कुरा मान्न बाध्य छैनौं किनभने संविधान निर्माणको यो प्रक्रिया विगतका सम्झौताहरूद्वारा निर्देशित छ । आधारभूत रूपमा सहमति भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रकै संविधान बनाउने हो । त्योभन्दा बाहिरको संविधान बन्न सक्दैन । संविधान बनाउने कुरामा कांग्रेस, एमालेको बढी र हाम्रो कम सिट भएकाले असर पर्छ भनेर सोच्नु यो संक्रमणकाल र यसको मर्मलाई नबुझ्नु हो । हामीले संविधान बनाउँदा आफ्नो कुरा धेरै होस् भनेर चाहनु र कांग्रेसले पनि त्यो चाहनु स्वाभाविक हो । तर संविधान बनाउने लक्ष्मण-रेखा कोरिएको छ । त्यो तोडेर संविधान बनाउँछु भन्नु शान्ति सम्झौता, अन्तरिम संविधान र समग्र प्रक्रिया तोडेको हुन्छ । कांग्रेस, एमालेले पेलेर संविधान बनाउन खोजे संविधानसभाबाट राजीनामा दिएर बाहिरिनुपर्छ भनेर केन्द्रीय समिति बैठकमा भन्नुभएछ नि ? हामी संविधान बनाउने कुरालाई उच्च प्राथमिकतामा राखेर सहमति गर्ने कोसिस गछौर्ं । हामी उहाँहरूसँग मिलेरै संविधान बनाउन चाहन्छौं । यसमा कहींकतै द्विविधा छैन तर, बहुमतका आधारमा डण्डा लगाउन खोज्ने हो भने त्योचाहिं राष्ट्रका निम्ति दुर्भाग्य हुन्छ । कांग्रेस, एमालेले सीमारेखा तोडे पनि एमाओवादी सीमारेखाभित्र बसिराख्छ भन्ने हुँदैन । यदि कांग्रेस, एमाले बहुमतका आधारमा जान खोज्ने हो भने हामी साक्षी भएर बस्न सक्दैनौं । त्यसबेला हामी जनतामा जानुपर्ने हुन्छ । तपाईंले युवा अवस्थामा पार्टीको नेतृत्व गर्नुभयो, सशस्त्र संघर्ष गर्नुभयो, शान्ति प्रक्रियामा पनि आउनुभयो तर संविधानसभाको दोस्रो निर्वाचनमा 'सेटब्याक’ खानुभयो । अहिले राजनीतिमा कता-कता असफल भएजस्तो लाग्दैन ? मलाई ठ्याक्कै त्यस्तो लाग्दैन । म ३६ वर्ष लाग्दै थिएँ पार्टीको नेतृत्व लिँदा, त्यसपछि ०४६ सालको जनआन्दोलन भयो । सहभागी भइयो । तुरुन्तै एकता केन्द्र बनाउन पहल गरें । संसद्मा गएर तीन वर्ष पनि बितायौं । विद्रोहमा नगई नहुने भएकाले माओवादी पार्टी बनायौं । मेरै नेतृत्वमा जनयुद्ध सुरु भयो । त्यो पाँच वर्ष चलेपछि पार्टीले प्रचण्डपथको संश्लेषण गर्‍यो, राष्ट्रिय सम्मेलनबाट म अध्यक्ष भएँ । १० वर्षे युद्ध गरी शान्ति प्रक्रियामा आयांै । यसरी हेर्दा म के ठान्छु भने पार्टीको जीवनमा पनि ठूल्ठूला परिवर्तन आए, एकता, रूपान्तरण, त्याग, बलिदान भए । शान्ति प्रक्रियामा आउँदा पनि ठूलो फड्को हान्दै आयौं । गणतन्त्र स्थापना भएपछि सरकारको नेतृत्व गर्नु पनि दुर्लभ थियो । यहाँसम्म आइपुग्दा राष्ट्रमा पनि ठूल्ठूला उथलपुथल आए । यो हेर्दा यति छोटो जीवनमा राष्ट्रिय र पार्टीगत जीवनमा उथलपुथलको नेतृत्व गर्नु गर्व, चुनौती र जिम्मेवारीको कुरा पनि हो । समग्रमा मलाई सन्तोष नै छ । तर, यसपटक निर्वाचनमा पराजित हुँदा ठूलो सेटब्याक कस्तो हुँदोरहेछ भन्ने अनुभव पनि भयो । विगतमा जितपछि जित हुँदै आएको हो । मैले छोएपछि सबै सफल भएजस्तो भयो विगतमा । अहिले मलाई त्यो सफलता नै सफलताले गर्दा म मनोगत भएँ कि जस्तो लाग्छ । २५ वर्षदेखि आफूले सोचेको कुरा हुँदै आएपछि अहिले यो निर्वाचन पनि हामी जित्छौं भन्ने लागेको थियो । इरानकी एकजना कम्युनिस्ट नेतृले धेरै अघि मलाई भनेकी थिइन्- जहिले पनि गाडी चलाउँदा मोडमा बढी 'कन्पिmडेन्ट' हुनुभयो भने यस्तो मोड पनि आउँछ, जहाँ 'स्टेयरिङ' घुमाउनुभन्दा अघि नै गाडी खस्न सक्छ । पौडी खेल्न धेरै जान्ने मान्छे डुबेरै मर्छ रे र मेरो राजनीतिमा पनि सफलतै सफलता भयो विगतमा । अहिले के महसुस गर्छु भने म विगतमा बढी विश्वस्त भएछु । सँगसँगै म के भन्छु भने एउटा लडाइँको मोर्चामा हारेको हो, युद्ध हारेको होइन । आँट गुमाउनु हुँदैन भनेको छु । हारेको सेनाले जितेको भन्दा बढी शिक्षा पाउँछ, हामी अहिले त्यस्तै भयौं । हामीले धेरै कुरा सिक्ने मौका पायौं । अब जित्न सकिदैन भन्ने मलाई लागेको छैन ।श्रोत :कान्तिपुर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger