Widgets

Home » , » देश गणतन्त्र, गाउँमा पञ्चायत

देश गणतन्त्र, गाउँमा पञ्चायत

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


(नवलपरासी), चैत १२ - पक्लिहवा-४ का हृदयेश यादव र प्रमोद कोइरी ट्याक्टरमा उखु लिएर चिनी मिल जाँदै थिए। पछाडि रहेका कोइरीले हर्न बजाउँदै अगाडि जान साइड मागे। हृदयेशले बाटो दिएनन्। कोइरीले कराउँदै 'बाटो देऊ' भने। तर, हृदयेशको ट्याक्टरमा रहेका पृथ्वी यादव ट्याक्टर रोकेर झगडामा उत्रिए। बाटो नदिएको निहुँमा भनाभन हुँदा यादवले उखुको लाँक्राले कोइरीलाई हिर्काइदिए। सोही ठाउँमा ताहिराम खातुनको जग्गाको रुख हृदयेश यादवले काटिदिए। सो निहुँमा दुईबीच झगडा भयो। यादवले सडक छेउमा रहेकाले रुख सार्वजनिक भएको दाबी गरे। गाउँकै पुरन मुसहर श्रवण चमारको घरमा रक्सी खाएर सुतिदिए। श्रवण घरमा नभएका बेला छोरी र श्रीमती सुशीला चमार सुतिरहेको खाटमा उनी सुतेपछि अर्को झगडा भयो। रक्सी खाएर आएका पुरनले पाँच हजारको चाँदीको पाउजु चोरेको आरोव सुशीलाले लगाइन्। यी तीनै घटनापछि स्थानीय न्याय खोज्न नजिकै रहेको प्रहरी चौकी पुगेनन्। बरु पक्लिहवा पञ्चायतमा गुहार माग्न पुगे। उनीहरुलाई न्याय दिन गाउँका ठालु दिनेश यादवको घरमा पञ्चायत बस्यो। स्वयं यादव, अर्का ठालु मुरारी पहलवान, विश्वनाथ कोइरी, जमदार मिया र जब्बार अन्सारी सहितका पञ्च न्याय गर्न बसे। वरपर गाउँले बीचमा पञ्चहरु। पीडित र पिडकले पालैसँग आफूलाई अन्याय भएको दाबी गरे। ट्याक्टरले बाटो नछाडेको निहुँमा प्रमोद कोइरीले झगडा गरेको आरोप पृथ्वी यादवले लगाए। ताहिराम खातुनले सडक छेउमै भए पनि जग्गा आफ्नो भएकोले रुख पनि आफ्नै हुनुपर्ने भन्दै त्यो फिर्ता पाउनुपर्ने माग गरे। अर्काको श्रीमतीको खाटमा रक्सी खाएर सुत्ने र चोरी समेत गरेकाले श्रवणका परिवारले हर्जाना मागे। चर्काचर्की बहस भयो। सबैले आफ्ना कुरा माथि पार्न प्रयास गरे। तर, अन्त्यमा समाजमा मिलेर बस्नुपर्ने भएकाले आ-आफ्नो गल्ती सकार्दै कारबाही भोग्न तयार हुनुपर्ने निर्णय पञ्चायतले गर्योज। ट्याक्टरले बाटो नछाडेको घटनामा उखुले हिर्काउने मालिक पृथ्वी यादवले प्रमोद कोइरीसँग माफी मागे। अर्काको रुख काट्ने हृदयेश यादवले रुख जसको हो उसैलाई फिर्ता गर्नुपर्ने भयो। तेस्रो घटनामा अर्काको घरमा रक्सी खाएर आइन्दा नजाने र चोरी गरेको भनिएको पाउजुको मूल्य पाँचहजार पुरन मुसहरले तिर्नुपर्ने निर्णय पञ्चले गरे। देश गणतन्त्रमा गए पनि विगतमा न्याय दिने उद्देश्यले बनेका पञ्चायत तराईका गाउँमा अझै छन्। देश गणतन्त्रमा गए पनि आफूहरुले गाउँ पञ्चायत फेर्न नसकेको पञ्च दिनेश यादव बताउँछन्। 'गाउँलेको विश्वास अझै यसैमा छ,' उनले भने, 'कोही पनि प्रहरीको लफडामा पर्न चाहँदैनन्।' पञ्चायतले गाउँका झै-भलगडा, मारपिट र अन्य साना घटनामात्रै हैन कसैको हत्या नै भयो भने पनि प्रहरीकहाँ पिडक र पीडितलाई सहजीकरण गरिदिनेसम्मको अधिकार राख्ने उनले उल्लेख गरे। 'देश त गणतन्त्र भयो, अब यो गाउँको पञ्चायतलाई बदल्ने नाम पनि त हुनुपर्यो नि,' अर्का पञ्च मुरारी पहलवान भन्छन्, 'पञ्चायतले जति छ अरु नामले यस्को अस्तित्व राख्दैन।' गाउँको समस्या पहिले गाउँमै सुल्झाउन पञ्चायतले भूमिका खेलेको जब्बार अन्सारी बताउँछन्। 'प्रहरीकहाँ गयो भने थुनिदिन्छन् किन जाने त्यहाँ? यहाँ भए माफी र कारबाही सिधै हुन्छ,' स्थानीय रामलाल चमार भन्छन्। नवलपरासी त्रिवेणी क्षेत्रमा पक्लिहवा, गुठी पर्सौनीसहित थुपै्र गाउँमा पञ्चायत छन्। संविधानसभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि निर्दलीय पञ्चायती व्यवस्था लाद्ने राजतन्त्र पनि इतिहास भइसकेको छ। पञ्चायती व्यवस्था आर्यघाट पुगेको २३ वर्ष बितिसक्यो। तर, सोही व्यवस्थाको झल्को दिने गाउँ पञ्चायत र ठालुको दबदबा जिवितै छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger