Widgets

Home » » बाबुरामका नयाँ विचारको तरङ्ग !

बाबुरामका नयाँ विचारको तरङ्ग !

Written By sangalo on Friday, March 14, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ वैचारिक संश्लेषणको नजिक आइपुगेका छन् । गत हप्ता एउटा साप्ताहिक पत्रिकामा प्रकाशित उनको लामो लेखमा व्यक्त भएका विचारले नेपालको वैचारिक विकासक्रममा एउटा नयाँ अध्याय थपिने पक्कापक्की भएको छ । विश्लेषण जगतमा यसले एउटा नयाँ तरंग नै पैदा गरेको छ । कतिपयले यसलाई बाबुरामको बुद्धिविलास भनेका छन् ।
damber-khatiwadaविचारमा नयाँ संश्लेषण नजिक आइपुगेर पनि बाबुरामले राजनीतिक आन्दोलनमा त्यसलाई नलैजालान भन्नेहरु पनि छन् । तर, उनले यसलाई वौद्धिक विचारमा मात्र सीमित गर्ने संभावना देखिँदैन । उनले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर नयाँ ढंगले पार्टीको पुनर्गठन प्रारम्भ गर्न आग्रह गर्दै नत्र ‘जनताले नयाँ शक्ति जन्माउँने छन ‘ भने बाट बाबुराम नयाँ प्रकारको राजनीतिक आन्दोलन आवश्यक छ भन्ने मनोदशामा पुगेको ठहर गर्न कुनै गाह्रो छैन । सायद यसैको प्रतिक्रिया स्वरुप हुन सक्छ, प्रचण्ड र बैद्य माओवादीहरु नजिकिन थालेका छन् ।
 बाबुरामलाई नववामपन्थी र संशोधनवादी भएको आरोप लगाउँदै आएका यी दुई समूह र बाबुरामबीचको वैचारिक दुरी बढ्दै गएमा माओवादी आन्दोलनमा मात्र हैन, नेपालको राजनीतिक आन्दोलनमा नै नयाँ अध्याय प्रारम्भ हुने आधार तयार हुनेछ । प्रचण्ड र बैद्यलगायतका सबै साना ठूला माओवादीहरु एक हुन सक्नेछन् । बाबुरामले माओवादी आन्दोलनको एउटा हिस्सालाई लिएर नयाँ पार्टी गठन गर्नु पर्ने हुन्छ । यस काममा माओवादी आन्दोलनभित्रको ठूलो शक्तिले बाबुरामलाई शुरुवात्देखि नै साथ दिने छैन । किनकि माओवादी आन्दोलनभित्रका नेता कार्यकर्ताको वैचारिक धरातल र स्कुलिङ्ग फरक प्रकारको छ । उनीहरुले बाबुरामका विचारको गहिराइ र नयाँपनलाई शुरुवातमा नै बुझ्न सक्ने छैनन् । तर, विस्तारै बुझ्दै जानेछन् ।
एउटा सानो समूहले नै साथ दिएमा पनि बाबुरामले त्यो आँट गर्नु राम्रो हुन्छ । किनकि उनका विचारसंग सहमत हुन सक्ने मान्छे माओवादी आन्दोलनभन्दा बाहिर पनि थुप्रै छन् । एमालेमा घनश्याम भुसाल र कांग्रेसमा प्रदीप गिरी समूहले निर्माण गरेको वैचारिक आधार र ती पार्टीमा असन्तुष्ट भएर बसिरहेका मानिसका लागि नयाँ राजनीतिमा आउने अवसर सिर्जना गर्न सक्छ यसले । मूलतः मूलधारका राजनीतिक शक्तिहरुसंग निरन्तर असन्तुष्ट हुँदै गएको बाम-लोकतान्त्रिक जनमतले आशाको नयाँ किरण प्राप्त गर्न सक्छ ।
 विचारको नयाँ कोण
उदारवाद र साम्यवाद विचारले एकअर्कालाई निषेध गर्न सक्दैनन्, यी दुबै द्वन्द्वात्मक एकत्वबाट नयाँ विचार संश्लेषण गर्न आवश्यक छ भन्ने दार्शनिक निष्कर्ष नै बाबुरामको विचारको नयाँ कोण हो । यो एकदमै सही निष्कर्ष हो । संसारमा साम्यवाद र उदारवादले एकअर्काका बीचमा करिब ३ शताब्दि लामो लडाइँ लडे । अठारौं उन्नाइसौं र बिसौं शताब्दिका राजनीतिक संघर्ष र तनावले के पुष्टि गर्यो भने उदारवाद लोकतान्त्रिक पद्धति र प्रक्रियाका दृष्टिकोणबाट साम्यवादभन्दा बलियो देखियो ।
बेलायतको गौरवमय क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम र प|mान्सेली राज्यक्रान्तिले संविधानवाद, विधिको शासन, शक्तिपृथकीकरण, व्यक्तिको सार्वभौमसत्ता, वालिक मताधिकार, आवधिक निर्वाचन, बहुमतको शासन, अल्पमतको वैधानिक व्यवस्था, आदि मान्यताहरु स्थापित गरे ।
यी मान्यताको विरुद्ध वा विकल्पमा साम्यवादीहरुले ‘पेरिस कम्युन’, ‘सोभियत प्रणाली’, ‘संयुक्त जनवादी अधिनायकत्वमा आधारित नयाँ जनवाद’ लाई स्थापित गर्ने प्रयास गरे । समयमक्रमले के सिद्ध गर्यो भने लोकतन्त्रको मर्म, पद्धति र प्रक्रिया साम्यवादी मोडेलभन्दा उदारवादी मोडेलमा नै बढी सुनिश्चित हुन सक्छ । तर त्यसलाई निरन्तर विकास गर्नु पर्ने आवश्यकता भने रहिनै रहन्छ । यसका लागि बाबुरामले ‘सहभागितामुलक लोकतन्त्र’ को कुरा गर्ने गरेकाछन् । अहिले त्यसको अभ्यास ल्याटिन अमेरिकी मुलुकहरुमा बलियो गरी हुँदै गएको छ ।
सहभागितामुलक विधिमा प्रतिनिधिमुलक लोकतन्त्रलाई सघनीकरण, विस्तारिकरण र मूर्तिकरण गर्ने वित्तिकै लोकतन्त्रको मोडेलबारे साम्यवाद र उदारवाद बीचको भिन्तनता समाप्त भएर जान्छ । यहाँनेर के ध्यान दिन जरुरी छ भने पेरिस कम्युन, सोभियत प्रणाली वा माओवादी नयाँ जनवादी मोडेलबाट त्यसप्रकारको लोकतन्त्रको मोडेल विकास हुन सक्ने कुनै संभावना छैन ।
 नेपाल अब अर्ध-सामन्ती वा अर्ध-औपनिवेशिक देश रहेन, तसर्थ अब नयाँ जनवादी क्रान्तिको कार्यभार आधारभूत रुपमा पूरा भइसक्यो, त्यसका ठाउँमा स्वच्छ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास र त्यसको निरन्तर समाजवादी रुपान्तरण गर्ने कार्यदिशा अबलम्बन गर्नु पर्छ भन्ने धारणा पनि उत्तिकै सही हो । पुँजीवाद र समाजवादको अन्तर्सम्बन्धबारे शास्त्रीय माक्र्सवादी बुझाईले अबको दुनियाँ काम गर्न सक्दैन् । पुँजीवादले शोषण मात्र गर्दैन् अवसर पनि उपलब्ध गराउँछ । पुँजीवादका अवसरहरुलाई बढाउनुपर्छ । पुँजीवादका शोषणहरुलाई नियन्त्रण गर्नु पर्छ । त्यसका लागि वलियो, जवाफदेही, पारदर्शी राज्य चाहिन्छ । त्यस्तो राज्य जनताको सहभागिताबाट मात्र संभव छ । समाजवाद पुँजीवादलाई निषेध गरेर आउँने व्यवस्था हैन, पुँजीवादका खराब पक्षको नियन्त्रण नियमनद्धारा त्यसलाई जनमुखी अवसरमा ढाल्दै लानु र रुपान्तरण गर्नु पर्छ । तसर्थ अबको समाजवाद भनेको अक्टोबर क्रान्ति वा चिनियाँ क्रान्तिले भनेझैं लेनिनवादी वा माओवादी समाजवाद हुँदैन । त्यसका ठाउँमा ‘मार्केट सोसलिज्म’ मात्र सही विकल्प हुनसक्छ । बाबुरामका विचारले संकेत गरेका मुख्य कुरा यिनै हुन् ।
 जबजभन्दा फरकः
कतिपय मानिसले बाबुरामका यी विचार एमालेको जनताको बहुदलीय जनवाद -जबज) जस्तै भएको प्रतिक्रिया व्यक्त गरेकाछन् । तर यो विश्लेषण पनि सही हैन् । एमालेको जबजका जड्ता विरुद्ध त्यहाँ घनश्याम भूषालहरु लडिरहनेकाछन् । बाबुरामका विचारहरु जबजसंग हैन, बरु भूषालका विचारसंग नजिक छन् । जबजमा उदार लोकतन्त्रको ऐतिहासक महत्वलाई स्वीकार गरिएको हुँदैन । त्यसका १४ विशेषताहरुलाई समावेश गरेर आफैलाई नविन भनिएको हुन्छ । जबजमा संघीयता, समावेशीकरण र सहभागितामूलक लोकतन्त्रलाई महत्व दिएको हुँदैन । प्रतिस्पर्धालाई महत्व दिएको हुन्छ ।
जबजले नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा भइसकेको ठान्दैन । नेपाललाई अर्ध-सामान्ती र अर्ध-औपनिवेशिक नै देख्छ । जबजमा नयाँ जनवाद र बहुदलीय जनवाद बीच तात्विक भिन्नता हुँदैन भनिएको हुन्छ । जबजले लेनिनवादी जनवादी केन्दि्रयताकै सिद्धान्तलाई स्वीकार गर्छ । सहभागितामुलक लोकतन्त्रको मोडलमा जनवादी केन्दि्रयताका कयौं नियमहरु परिमार्जित हुन पुग्छन ।
बाबुरामले भारतको आम आद्मी पार्टी र अरविन्द केजरिवालको उल्लेख गरेर जवाफदेही, पारदर्शी र सुशासित समाजको आवश्यकतातिर संकेत गरेकाछन् । जबजले कम्युनिष्ट पार्टीको परम्परागत गोपनियता, केन्दि्रयताको महत्व र पार्टीहित अधिनस्थ पारदर्शीताको मात्र कुरा गर्छ । तसर्थ बाबुरामका विचार जबजभन्दा पनि एक स्टेप माथि हुन् । विश्वसन्दर्भबाट हेर्दा एमालेको जबज युरो कम्युनिज्मजस्तो हो भने बाबुरामको नयाँ विचार ल्याटिन अमेरिकी मुलुकहरुको नयाँ बामपन्थजस्तो ।
माक्र्सवादी हुनु अन्तिम नियति हैन
बाबुरामका विचारमाथि अर्को आरोप उनका विचार माक्र्सवादबाट निरन्तर विचलित हुँदै गएको भन्ने देखिन्छ । यहाँनेर एउटा प्रश्न गर्न सकिन्छ । के माक्र्सवादी हुनु वा नहुनु नै मानव जातिको अन्तिम नियति हो ? नैतिकताको मापदंड हो ? माक्र्सवादभन्दा पनि ठीक र समयानुकुल विचार जन्माउँन सकिन्छ भने माक्र्सवादी नै किन हुन पर्र्यो ? संसारमा जो माक्र्सवादी थिएनन् के सबै मान्छेका योगदानहरु निरर्थक थिए ? गान्धी र माण्डेला निरर्थक थिए ? महाथिर मोहम्मद र लि क्वान निरर्थक थिए ? यतिखेर हामीलाई चाहिएको माक्र्सवादको शास्त्रीय व्याख्या विश्लेषण गर्न सक्ने पंडितहरु हो कि समयानुकुल आर्थिक नीति लिएर देश विकास गर्न सक्ने नेता र विचार ? यदि हामीलाई आर्थिक संमृद्धि, उन्नति र विकास चाहिएको हो भने एउटा माओवादी नेतामा आएको त्यस प्रकारको वैचारिक परिवर्तनमा आक्रमण गरेर निरुत्साहित गर्ने हैन, अभिप्रेरित गर्न जरुरी छ ।
फेरि माक्र्सवादको आधारभूत प्रस्तावना भनेको द्वन्द्ववाद हो । द्वन्द्ववादलाई समातेपछि माक्र्सवादका अरु सबै सिद्धान्तहरु छोडिदिए पनि केही फरक पदैन् । वस्तुतः द्वन्द्ववादबाहेक माक्र्सवादका अरु सिद्धान्तहरु सही पनि सावित भएनन् । बाबुरामले आधारभूत दार्शनिक मान्यताका रुपमा माक्र्सवाद छोडेको देखिन्न ।
माक्र्सवादका समाजशास्त्रीय, अर्थशास्त्रीय र राजनीतिशास्त्रीय मान्यताहरु त फेर्न आवश्यक छ नै । त्यसलाई छोड्ने कुरा सकारात्मक हुन्छ । कम्प्यूटर चलाउँने सीप भएका मानिसले टाइपराइटर छोडेकोमा चिन्ता गर्दैन । टाइपटाइटर छोडेको चिन्ता त ती मानिसलाई मात्र हुन्छ, जो लिथो मेसिनमा फर्किनु पर्ला कि भन्ने भयमा हुन्छन् ।
अबको बाटो के ?
बाबुरामको अबको बाटो के होला ? यो पंक्तिकार बाबुरामलाई चिन्ने, जान्ने, हेलमेल भएको, उनको कार्यकर्ता वा उनको समर्थक वा उनको मनोविज्ञानलाई नजिकबाट अन्दाज गर्न सक्ने मानिस हैन । राजनीतिक विश्लेषणका विधिबाट हेर्दा केही समय बाबुराम एमाओवादी पार्टीभित्र विपक्षी नेताकै रुपमा रहने देखिन्छ । तुरुन्तै नयाँ पार्टी खेल्ने हतारो पनि उनले गरिहाल्न हुँदैन ।
कम्तिमा वर्तमान संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नबनुन्जेलसम्म उनले त्यहीँभित्र आफ्ना विचार राख्नु र पार्टीबाहिरको जनमतसंग पनि निरन्तर अन्तक्रिर्यामा रहनु आवश्यक हुन्छ । एमालेभित्रको भूषाल समूह, नयाँ विकल्प खोज्दै एमालेबाट निस्किएका अशोक राईहरु, कतिपय साना र मधेसी दलहरुसँगको अन्तक्रिर्यालाई पनि उनले बढाउनुपर्छ । यसक्रममा एमाओवादी पार्टीभित्र धैर्यतापूर्वक अझै केही वर्ष वैचारिक संघर्ष गर्न आवश्यक छ ।
त्यसपछि डा. बाबुरामसंग दुई विकल्प बाँकी रहनेछन् । या त आफ्ना नयाँ विचारलाई बौद्धिक तहमा सीमित गर्दै माओवादी पार्टीमै रहने । या एक्काइशौं शताब्दी सुहाउँदो नयाँ पार्टी निर्माण गर्न आँट गर्ने ।
बाबुरामले नयाँ पार्टी बनाउन आँट गरेमा त्यो कुनै आश्चर्यको घटना हुने छैन । संसारमा यस्ता सयौं उदाहरणहरु छन् । ब्राजिलकी बर्तमान राष्ट्रपति डिल्मा रुसेफ कुनै समय कम्युनिष्ट छापामार थिइन् । नेल्सन माण्डेला कुनै समयमा छापामार थिए । ल्याटिन अमेरिका हल्लाएका भेनेजुएलाका स्वर्गीय राष्ट्रपति हृयूगो चाभेज कुनै समय विद्रोही सैनिक अफिसर थिए ।
हालका वोलिभियाली राष्ट्रपति इभो मोराजेल केही समय अमारो आदिवासी छापामार समूहमा काम गरेका मानिस थिए । निकारागुवाका राष्ट्रपति डेनियल आर्टेगाको इतिहास पनि त्यस्तै छ । आफ्नो विगतलाई बाबुरामले अवश्य समीक्षा गर्नु पर्छ तर त्यही हीनताभाष मनमा राखेर नयाँ विचार र आन्दोलनका लागि काम गर्ने मनस्थितिबाट फिर्ता हुन जरुरी हुँदैन । मानिस सिक्दै अगाडि बढ्ने प्राणी हो । केही गर्न चाहने मानिसले आफ्नो विगतलाई वाधाका रुपमा हैन, अनुभवका रुपमा संग्रह गर्नुपर्छ श्रोत:अनलाइनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger